टोकियो – जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले इरानमा दुई जापानी नागरिकलाई त्यहाँका अधिकारीहरूले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । शुक्रबार तल्लो सदनको परराष्ट्र मामिला समितिमा बोल्दै मन्त्री मोतेगीले उनीहरू सुरक्षित रहेको र यथाशीघ्र रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको जानकारी दिए ।
उनका अनुसार, एक जापानी नागरिकलाई गत जनवरी २० मा तेहरानबाट नियन्त्रणमा लिइएको थियो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि पनि सरकारले उनीहरूसँग सम्पर्क गरी सुरक्षाको सुनिश्चितता गरेको विदेशमन्त्रीले बताए । जापानले यसै साता टोकियोस्थित इरानी राजदूतलाई बोलाएर आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाइका लागि कडा माग गरेको छ ।
यसैबीच, मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै जापानी सरकारले साउदी अरब र ओमानमा रहेका आफ्ना नागरिकलाई आइतबार चार्टर्ड विमानमार्फत उद्धार गर्ने तयारी गरेको छ । उद्धार कार्यको सम्पूर्ण खर्च सरकारले नै बेहोर्ने बताइएको छ ।








