टोकियो – जापानका करिब ६० प्रतिशत व्यवसायहरूले आगामी वसन्त ऋतुदेखि आफ्ना कर्मचारीहरूको तलब वृद्धि गर्ने योजना बनाएका छन् । एक अनुसन्धान संस्था ‘तेइकोकु डेटाबैंक लिमिटेड’ ले हालै सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार जापानमा तलब बढाउने योजना बनाउने कम्पनीहरूको सङ्ख्या लगातार पाँचौँ वर्ष बढेको छ । यो सन् २००७ मा सर्वेक्षण सुरु भएयताकै उच्च स्तर हो ।
सन् २०२६ को वसन्तकालीन श्रम वार्ताको मुख्य केन्द्रबिन्दु ‘के तलब वृद्धिले आकाशिएको महँगीलाई उछिन्न सक्ला ?’ भन्ने रहेको छ । जनवरीमा गरिएको यस सर्वेक्षणमा जापानका १० हजार ६ सय २० कम्पनीहरू सहभागी थिए । सर्वेक्षणका अनुसार ६३.५ प्रतिशत कम्पनीहरूले आधारभूत तलब वा बोनसमार्फत पारिश्रमिक सुधार गर्ने अपेक्षा राखेका छन्, जुन गत आर्थिक वर्षको तुलनामा १.६ प्रतिशतले बढी हो। विशेष गरी, ‘आधारभूत तलब वृद्धि’ गर्ने कम्पनीहरूको सङ्ख्या २.२ अंकले बढेर ५८.३ प्रतिशत पुगेको छ भने २८.२ प्रतिशत कम्पनीहरूले ‘बोनस’मार्फत कर्मचारीलाई राहत दिने सोच बनाएका छन् ।
उद्योग क्षेत्रका आधारमा ‘उत्पादनमूलक क्षेत्र’ ७१.५ प्रतिशतका साथ तलब वृद्धिमा अग्रपंक्तिमा देखिएको छ । त्यसैगरी, यातायात तथा गोदाम व्यवस्थापनमा ६९.१ प्रतिशत र निर्माण क्षेत्रमा ६६.५ प्रतिशत कम्पनीहरूले पारिश्रमिक बढाउने योजना बुनेका छन् । तलब वृद्धि गर्नुका कारणहरूबारे सोधिएको प्रश्नमा (बहु-विकल्प) ७४.३ प्रतिशत कम्पनीहरूले ‘दक्ष जनशक्ति टिकाइराख्न र नयाँ कामदार आकर्षित गर्न’ अनिवार्य भएको बताएका छन् । यस्तै, ६१.५ प्रतिशतले ‘कर्मचारीको जीवनस्तरमा सहयोग पुर्याउन’ र ५३ प्रतिशतले ‘बढ्दो बजार मूल्य’ लाई मुख्य कारण मानेका छन् ।
यातायात जस्ता क्षेत्रहरूमा जहाँ जनशक्तिको चरम अभाव छ, त्यहाँ तलब वृद्धिको दबाब अझ बढी देखिएको छ । साथै, सन् २०२५ मा जापान सरकारले प्रतिघण्टा न्यूनतम ज्यालामा गरेको ६६ येनको ऐतिहासिक वृद्धिले पनि २९.२ प्रतिशत कम्पनीहरूलाई तलब बढाउन प्रेरित गरेको छ ।
तथ्याङ्कअनुसार तलब वृद्धि नगर्ने कम्पनीहरूको अनुपात ११.८ प्रतिशतमा झरेको छ, जुन अहिलेसम्मकै न्यून हो । यद्यपि, साना व्यवसायहरूको हकमा भने तस्बिर केही फरक छ । ५ वा सोभन्दा कम कर्मचारी भएका करिब ३० प्रतिशत कम्पनीहरूले आगामी वर्ष तलब बढाउन नसक्ने बताएका छन्, जसले साना उद्योगहरू अझै पनि चुनौतीपूर्ण व्यावसायिक वातावरणमा रहेको स्पष्ट पार्छ ।
सर्वेक्षणका क्रममा एक स्टिल निर्माण कम्पनीले भनेको छ, ‘हामीले केही हदसम्म मूल्य वृद्धि गरेर नाफा सुरक्षित त गरेका छौँ, तर भविष्यको सामाजिक र आर्थिक अवस्था हेर्दा आगामी दिनमा तलब वृद्धि चुनौतीपूर्ण हुन सक्छ ।’
घरजग्गा व्यवसायसँग सम्बन्धित एक एजेन्सीले बढ्दो लागतका कारण आर्थिक रूपमा बलिया र संघर्षरत कम्पनीहरूबीचको खाडल झनै फराकिलो हुँदै गएको टिप्पणी गरेको छ । एक थोक बिक्रेताको विचारमा, ‘जनताको क्रयशक्ति जोगाउन आम्दानीको वृद्धिदर महँगीभन्दा बढी हुन जरुरी छ ।’








