टोकियो – जापानको कानागावा प्रान्तस्थित हादानो शहरमा विदेशी बालबालिका र उनीहरूका परिवारलाई निःशुल्क जापानी भाषा तथा शैक्षिक सहयोग प्रदान गर्दै आएको एक महत्वपूर्ण कार्यक्रमको भविष्य अन्योलमा परेको छ । विगत ३६ वर्षदेखि यो सेवा दिँदै आएको ‘सोफिया युनिभर्सिटी जुनियर कलेज डिभिजन’ यो वर्षको मार्च अन्त्यदेखि बन्द हुने भएपछि यो संकट पैदा भएको हो ।
सन् १९८८ मा सुरु भएको यस कार्यक्रमले हालसम्म ४०० भन्दा बढी विदेशी परिवारलाई शैक्षिक र सामाजिक सहायता प्रदान गरिसकेको छ ।
यस कार्यक्रमको सुरुवात एउटा हृदयविदारक घटनाबाट भएको थियो । सन् १९८७ मा हादानोमा बस्ने एक इन्डोचाइनिज शरणार्थीले सामाजिक एक्लोपन र मानसिक तनावका कारण आफ्नै श्रीमती र तीन छोराछोरीको हत्या गरेका थिए । विदेशीहरू जापानी समाजमा घुलमिल हुन नसक्दा यस्ता घटना घट्ने महसुस गरी कलेजकी तत्कालीन प्राध्यापक सिस्टर कोर्टेसको पहलमा यो कार्यक्रम सुरु गरिएको थियो । ‘अरूका लागि र अरूसँगै’ भन्ने मूल मन्त्रका साथ विद्यार्थी स्वयंसेवकहरूले विदेशी परिवारका घरमै पुगेर भाषा सिकाउन थालेका थिए ।
यो कार्यक्रम केवल भाषा सिक्ने थलो मात्र नभई विदेशी बालबालिकाका लागि आफ्नो पहिचान व्यक्त गर्ने माध्यम पनि बनेको छ । दक्षिण अमेरिकी मूलका धेरै बालबालिकाहरू यहाँ जापानी र स्पेनिस दुवै भाषामा कुराकानी गर्छन् । उनीहरूलाई विद्यालयको गृहकार्य, छात्रवृत्ति आवेदन र प्रवेश परीक्षाको तयारीमा विद्यार्थी स्वयंसेवकहरूले सघाउँदै आएका छन् ।
कार्यक्रमकी संयोजक प्राध्यापक साचिए मियाजाकी भन्छिन्, ‘हामी बालबालिकाहरूलाई जापानी समाजले उनीहरूलाई स्वीकार गरेको छ भन्ने महसुस गराउन चाहन्छौँ । विद्यालयमा अल्पमतमा पर्ने बालबालिकाहरू यहाँ आएपछि ढुक्कसँग आफ्ना कुरा राख्न सक्छन् ।’
जापानमा घट्दो जन्मदर र उच्च शिक्षाको बदलिँदो स्वरूपका कारण सोफिया युनिभर्सिटी जुनियर कलेजले नयाँ विद्यार्थी भर्ना लिन बन्द गरेको छ । कलेज पूर्ण रूपमा बन्द भएपछि यो सहायता कार्यक्रम पनि सोही स्वरूपमा अघि बढ्न नसक्ने निश्चित भएको छ । कार्यक्रममा सहभागी १४ वर्षीया नात्सुमी, जो पेरुकी हुन्, भन्छिन्, ‘यो खबरले म धेरै दुखी छु। यहाँ मलाई बुझ्ने साथीहरू र वातावरण थियो, अब त्यो गुम्ने डर छ ।’
यद्यपि, प्राध्यापक मियाजाकी आशावादी छिन् । उनले हादानो नगरपालिका र स्थानीय समुदायमा विकास भएको ‘बहुसांस्कृतिक सहअस्तित्व’को भावनाले गर्दा कुनै न कुनै रूपमा यो सहयोग जारी रहने विश्वास व्यक्त गरिन् । तर, दशकौँदेखि एउटा विश्वविद्यालयले धानेको यो व्यवस्थित ‘सेफ्टी नेट’ टुट्नुले विदेशी समुदायमा भने चिन्ता बढाएको छ ।








