Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – बंगलादेशमा हालै सम्पन्न आमनिर्वाचनको प्रारम्भिक मतपरिणामले विद्यार्थी आन्दोलनको जगमा बनेको ‘नेसनल सिटिजन्स पार्टी’ (एनसिपी) लाई ठूलो धक्का दिएको छ । सडक आन्दोलनमार्फत सत्ता परिवर्तनको नेतृत्व गरेको यो दल चुनावी मैदानमा भने निकै कमजोर देखिएको हो ।

बंगलादेशको चर्चित सञ्चारमाध्यम द डेली स्टारका अनुसार ३०० सदस्यीय संसद् (जातीय संसद्) मा मतगणना जारी रहँदा एनसिपीले मात्र ६ सिटमा चित्त बुझाउनुपर्ने देखिएको छ । निर्वाचनअघि एनसिपीका प्रभावशाली नेता नाहिद इस्लामले आफ्नो गठबन्धनले सरकार बनाउने दाबी गरेका थिए । तर, इस्लाम आफैँ ढाका-११ मा अग्रता जोगाउन संघर्षरत रहँदा पार्टीको समग्र प्रदर्शन भने निराशाजनक देखिएको छ ।

यसपटकको निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) ले ऐतिहासिक पुनरागमन गरेको छ । मतगणनाको पछिल्लो रुझान अनुसार बिएनपी नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरिसकेको छ भने दुई तिहाइ बहुमततर्फ अग्रसर देखिएको छ। बंगलादेशको संसद्‌मा बहुमतका लागि १५१ सिट आवश्यक पर्छ ।

यस जितसँगै १७ वर्ष लामो निर्वासन राजनीतिक वनवासपछि तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा रहमान सन् २००८ देखि बेलायतमा रहँदै आएका थिए । सन् २००७ मा तत्कालीन सरकारले पक्राउ गरेपछि उपचारका लागि बेलायत पुगेका उनी गत पुसमा मात्रै स्वदेश फर्किएका थिए ।

सन् २०२४ जुलाईमा भएको चर्किएको विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छाड्न बाध्य बनाएको थियो । झन्डै १४ सय प्रदर्शनकारीको ज्यान गएको उक्त हिंसात्मक आन्दोलनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो । आन्दोलनको राप र तापबीच जन्मिएको विद्यार्थीहरूको दलले चुनावी नतिजामा भने त्यो प्रभावलाई बदल्न सकेन । 

अर्कोतर्फ, कट्टरपन्थी मानिने जमात-ए-इस्लामी पार्टीले करिब ६० सिट जित्ने प्रक्षेपण गरिएको छ । ढाका ट्रिब्युनका अनुसार यो दल अब संसद्‌मा प्रमुख विपक्षी भूमिकामा देखिने सम्भावना छ ।

तपाईको प्रतिक्रिया