टोकियो – आफ्ना नवीन र अत्याधुनिक उत्पादनहरूका लागि विश्वभर चर्चित जापानी शौचालय निर्माताहरूले अब दिसा विश्लेषण गर्ने प्रविधि भित्र्याएका छन् । स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूलाई आकर्षित गर्ने उद्देश्यले कम्पनीहरूले शौचालयमा नै यस्तो प्रविधिको विकास गरेका हुन् ।
जापानी कम्पनी ‘टोटो लिमिटेड’ले गत अगस्टमा आफ्नो उच्च-स्तरीय ‘नियोरेस्ट’ सिरिजका दुई नयाँ मोडेल सार्वजनिक गरेको छ । यी शौचालयको कचौराभित्र विशेष सेन्सर मोड्युल र एलईडी युक्त उपकरण जडान गरिएको छ, जसले दिसाको आकार, मात्रा र रङ स्क्यान गरी मापन गर्दछ । जापानमा घरायसी प्रयोजनका लागि डिजाइन गरिएको यो पहिलो प्रणाली हो । यसले दिसाको आकार र कडापनलाई सात वटा श्रेणीमा वर्गीकरण गर्छ भने मात्रा र रङलाई तीन तहमा रेकर्ड गर्छ ।
प्रयोगकर्ताले स्मार्टफोन एपमार्फत आफ्नो दिसाको स्थिति र स्वास्थ्य विवरण ट्र्याक गर्न सक्छन् । यति मात्र होइन, आन्द्राको चाल र दिसाको विश्लेषणका आधारमा एपले प्रयोगकर्तालाई ‘सागसब्जीको मात्रा बढाउनुहोस्’ भन्ने जस्ता खानपानसम्बन्धी सुझावहरू समेत दिन्छ । कम्पनीका एक अधिकारीका अनुसार, यो नयाँ उत्पादनको उद्देश्य ‘दैनिक शौचालयको बानीलाई सुस्वास्थ्यको प्रवेशद्वारमा परिणत गर्नु’ हो ।
अर्कोतर्फ, ‘प्यानासोनिक कर्पोरेसन’ले नर्सिङ-केयर (स्याहार केन्द्र) सुविधाहरूका लागि ‘तोइरेपो’ नामक उपकरण विकास गरेको छ । शौचालयमा जडान गरिएको सेन्सरमार्फत यसले त्यहाँका वासिन्दा वा बिरामीको मलमूत्र त्यागको समय, आवृत्ति र मात्रा रेकर्ड गर्दछ । परम्परागत रूपमा आफैंले गर्नुपर्ने चेकजाँच वासिन्दा र कर्मचारी दुवैका लागि असहज र अप्रिय हुने भएकाले यो नयाँ उपकरण निकै प्रभावकारी र लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ ।
जापानको शौचालय उद्योग बदलिँदो सामाजिक आवश्यकता अनुसार उत्पादन विकास गर्न माहिर मानिन्छ । पश्चिमा शैलीका शौचालयहरू मुख्यधारामा आएपछि सुरुमा सरसफाइ र आराममा केन्द्रित ‘बिडेट’ शौचालयहरू आए । त्यसपछि वातावरणीय चेतना बढ्दै जाँदा कम पानी खपत गर्ने डिजाइनहरू विकास भए र अहिले स्वास्थ्यमा केन्द्रित उत्पादनहरू बजारमा आउन थालेका छन् । मित्सुबिसी युएफजे ई-स्मार्ट सेक्युरिटिजका बजार विश्लेषक सुतोमु यामादा भन्छन्, ‘यी उत्पादनहरू अत्यधिक जिज्ञासु र अन्वेषणात्मक दिमागबाट जन्मिएका हुन् ।’








