काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र सुरक्षित रहेको र एमालेको अस्तित्व कहिल्यै नसकिने ‘अजम्बरी’ शक्ति भएको दाबी गरेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र पुराना दलप्रतिको वितृष्णालाई चिर्दै यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा ओलीले तीन महिनाअघिको घटनाक्रम (जेनजी मुभमेन्ट) को स्मरण गर्दै त्यसबेला देशलाई युद्धभूमिजस्तै बनाइएको टिप्पणी गरे । ‘जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो, आततायी शैलीमा संविधान, लोकतन्त्र र राजनीतिक दलहरूका आधारस्तम्भमाथि भीषण हमला भइरहेको थियो,’ ओलीले भने ।
अध्यक्ष ओलीले केही समयअघि पुराना राजनीतिक दल र नेतृत्वको औचित्य सकिएको भन्दै गलत भाष्य निर्माण गर्ने प्रयास भएको बताए । उनले भने, ‘त्यसबेला एउटा भाष्य निर्माण गर्ने कोसिस भयो- अब पुराना पार्टी सकिए, पुराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो ।’
तर, भक्तपुरमा देखिएको विशाल जनसागरले ती सबै भ्रम र निषेधका प्रयासलाई असफल तुल्याएको उनको भनाइ थियो । धुवाँ, खरानी र चौतर्फी प्रहारलाई चिर्दै एमाले आज पनि जनताको बीचमा लोकप्रिय रहेको उनले जिकिर गरे । उपस्थित जनसमूहलाई साक्षी राख्दै उनले भने, ‘यो जनसागर देखेपछि म ढुक्कले भन्न सक्छु- लोकतन्त्र अझै जीवित छ र नेकपा एमाले अजम्बरी छ ।’








