टोकियो – टोकियोको प्रतिष्ठित गान्जा क्षेत्रमा हाजिमे सासाकीको पसलमा चपस्टिकदेखि बुद्धका मूर्तिहरूसम्म सजाएर राखिएका छन्- जसमध्ये धेरै हात्तीको दाँत (आइभोरी) बाट बनेका छन् । अन्तर्राष्ट्रिय रूपमा हात्तीको दाँतको व्यापार अवैध भए पनि जापानमा भने यसको घरेलु बजार खुल्लमखुल्ला सञ्चालन भइरहेको छ, जुन विश्वकै ठूलो कानुनी बजारमध्ये एक हो ।
करिब ३० वर्षअघि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्नुअघि आयात गरिएको र सरकारी लिलामीबाट किनिएका २ सय ५० टन मौज्दात (स्टक) ले जापानको यो बजार धानिएको छ । तर, संरक्षणविद्हरूले चेतावनी दिएका छन् कि जापानको हात्तीको दाँत अवैध रूपमा विदेश (विशेष गरी चीन) बाहिरिँदा कालोबजारी फस्टाएको छ र अन्य देशहरूको प्रतिबन्धलाई कमजोर बनाएको छ ।
तथ्यांकअनुसार सन् २००८ यता जापानसँग जोडिएको ३ हजार ६ सय किलोभन्दा बढी हात्तीको दाँत विश्वका विभिन्न स्थानबाट जफत गरिएको छ । उज्बेकिस्तानमा हालै सम्पन्न वन्यजन्तु व्यापारसम्बन्धी बैठकमा प्रस्तुत प्रतिवेदनले जापानको कानुन कार्यान्वयनमा कमजोरी रहेको औंल्याएको छ ।
छिमेकी मुलुक चीनले सन् २०१७ मै यसको व्यापारमा प्रतिबन्ध लगाइसकेको छ । तर, जापानको खुकुलो बजारले चीनमा तस्करी बढाउन मद्दत गरेको इन्टरनेसनल फन्ड फर एनिमल वेलफेयरका म्याट कोलिस बताउँछन् । यता, जापान सरकारले भने आफ्नो राष्ट्रिय बजारले हात्ती संरक्षणमा असर नगरेको दाबी गर्दै कडा नियन्त्रण उपाय अपनाएको जिकिर गरेको छ ।
व्यापारी सासाकीका अनुसार पसलमा चिनियाँ पर्यटकहरू धेरै आउँछन्, तर विदेश लैजान नपाइने नियम बुझाएपछि उनीहरू किन्न छाड्छन् । जापानभित्रै पनि चेतना बढेका कारण यसको माग घट्दो छ । जापान टाइगर एण्ड एलिफेन्ट फन्डका मासायुकी साकामोटोका अनुसार आन्तरिक माग घट्दा स्टक थुप्रिएको छ, जसले तस्करहरूलाई चीनतर्फ आकर्षित गरिरहेको छ ।
अफ्रिकी राष्ट्रहरूले सबै घरेलु बजार बन्द गर्न माग गरे पनि जापानले त्यसलाई अस्वीकार गर्दै आएको छ । व्यापारी सासाकी भने तस्करी रोक्नुपर्ने तर मौज्दात रहेका दाँतहरूलाई नष्ट गर्नुको साटो बिक्री गरेर संरक्षणका लागि आम्दानी जुटाउनुपर्ने तर्क गर्छन् । हरेक वर्ष १० देखि १५ हजार हात्ती दाँतका लागि मारिने गरेको अनुमान छ ।








