टोकियो – गत सोमबार आओमोरी प्रिफेक्चरको पूर्वी तटीय क्षेत्रमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रभावित क्षेत्रमा मौसम प्रतिकूल बनेको छ । जापानी मौसम विज्ञान निकायका अनुसार भूकम्प प्रभावित आओमोरी र दक्षिणी होक्काइडो लगायतका क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ ।
भूकम्पका कारण जमिनको सतह कमजोर भएकोले थप वर्षा र हिमपातले पहिरो जाने जोखिम बढाएको भन्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसमविद्हरूका अनुसार बिहीबार राति र शुक्रबार भारी हिमपातको सम्भावना छ । यसले यातायात अवरुद्ध हुने, घरको छानाबाट हिउँ खस्ने, हिमपहिरो जाने र विद्युत् आपूर्ति बन्द हुन सक्ने चेतावनी दिइएको छ ।
‘मेगा क्वेक’ को चेतावनी
जेएमएले होक्काइडो र सान्रिकु तटीय क्षेत्रमा अर्को विनाशकारी भूकम्प जान सक्ने भन्दै विशेष परामर्श जारी गरेको छ । जापान ट्रेन्च र चिसिमा ट्रेन्च क्षेत्रमा ठूलो धक्का महसुस हुन सक्ने सम्भावना औंल्याइएको छ । यो चेतावनी होक्काइडो, आओमोरी, इवाते, मियागी, फुकुसिमा, इबाराकी र चिबाका १८२ नगरपालिकाहरूमा लागू गरिएको छ ।
अधिकारीहरूले यो चेतावनीले भूकम्प निश्चित रूपमा आउँछ भन्ने अर्थ नलाग्ने तर पूर्वतयारी भने आवश्यक रहेको बताएका छन् । नागरिकहरूलाई तत्काल घर छोड्न नभई, आपत्कालीन झोला तयार राख्न र आवश्यक परेको खण्डमा तुरुन्तै सुरक्षित स्थानमा जान सक्ने अवस्थामा रहन सुझाव दिइएको छ ।
इबाराकी प्रिफेक्चरमा रहेका विदेशी नागरिकहरूलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीय अगुवाहरूले विदेशी प्रशिक्षार्थी तथा कामदारहरूलाई भूकम्प आउँदा टेबलमुनि लुक्न, सुनामीको चेतावनी आएमा तुरुन्त अग्लो स्थानमा जान र खानेकुरा तथा पानीको जोहो गर्न सल्लाह दिएका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित (जापानी स्केलमा ६ माथिल्लो तीव्रता महसुस गरिएको) आओमोरीको हाचिनोहे सहरका सबै विद्यालयहरू पुन: सञ्चालनमा आएका छन् । यद्यपि, शिक्षा बोर्डले अर्को सातासम्म बाहिरी गतिविधि नगर्न र विद्यार्थीहरूलाई सुरक्षित निष्कासनका मार्गबारे जानकारी गराउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।








