समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार चुनाव गराउने विषयमा विश्वस्त हुन नसकेको बताएका छन्। बुधबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको तयारी कमजोर देखिएको बताए।
उनका अनुसार, चुनाव भन्नु मात्र होइन, त्यसका लागि आवश्यक तयारी र अनुकूल वातावरण बनाउन सरकार सक्रिय हुनुपर्छ। “दलहरूलाई नियन्त्रण गरेर बहुदलीय प्रणालीअनुसारको चुनाव सम्भव हुँदैन,” उनले भने। पौडेलले सरकारले चुनाव अनुकूल वातावरण निर्माणतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे। दलीय व्यवस्थामा राजनीतिक दल र नेताहरूलाई निषेध गरेर स्वच्छ चुनाव सम्भव नहुने उनको भनाइ छ।
मतदाताले ढुक्कसँग आफ्नो मनपर्ने दल र उम्मेदवार छान्न पाउनुपर्ने उनले बताए। जेनजी पुस्ताको मुद्दा र मागलाई पनि प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। “हामी सबैको माग समेटेर घोषणा पत्र ल्याउनेछौँ,” पौडेलले भने।








