Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – हरितालिका तीज पर्व २०८२ को अवसरमा कुमामोतो नेपाली समाज र आसो फुटबल क्लबले जापानमा रहेका नेपाली समुदायका लागि विविध कार्यक्रमको आयोजना गरी तीजको रौनक थपेका छन् ।

कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटीले पहिलो स्थान हासिल गर्दै यस वर्षको उपाधि चुमेकी छिन् । प्रतियोगितामा संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा रहन सफल भए भने आशा बलालले तेस्रो स्थान ओगटिन् । विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कारका साथै होक्काइडो ‘घी’ र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहेको निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गीको सहभागिता थियो । निर्णायक सुरेन्द्र डंगोलका अनुसार, प्रतियोगिताको परिणाम दर्शकको भोट र निर्णायकहरूको अङ्कको आधारमा तय गरिएको थियो ।कुमामोतोस्थित स्पाइस आरोमा रेस्टुरेन्टमा सम्पन्न दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हरिदेवकोटाले विजेता तथा सहभागीहरूलाई बधाई दिँदै मञ्चको सम्मान, धैर्यता र अनुशासनका साथ कर्म गर्न प्रोत्साहन गरे । उनले आजको सामान्य कलाकार भोलि देश चिनाउने कलाकार बन्न सक्ने सम्भावना रहेको बताए । कवि तथा कलाकार मञ्जुल मितेरीले पनि भावनात्मक सन्देशसहित सहभागीहरूलाई हौसला प्रदान गरे ।प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, दोस्रो पुरस्कार स्पाइस आरोमा रेस्टुरेन्ट र तेस्रो पुरस्कार आसो फुटबल क्लबले प्रायोजन गरेका थिए । होक्काइडो ‘घी’ र Yehey Remit सह–प्रायोजकका रूपमा रहेका थिए । Yehey Remit द्वारा सञ्चालित लक्की ड्रमार्फत विभिन्न सहभागीहरूले २० हजार येन बराबरको नगद पुरस्कार र होक्काइडो ‘घी’ समेत जितेका थिए ।कुमामोतो नेपाली समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा नेपाली समुदायको बढ्दो संख्यासँगै उत्पन्न हुने समस्या समाधानका लागि समाज र संगठनहरूको भूमिका महत्वपूर्ण रहेको बताए । ‘हामी फुटेर होइन, जुटेर मात्रै समाधान सम्भव हुन्छ। एनआरएनए जापान र नेपाली दूतावाससँग सहकार्य गर्न हामी तत्पर छौं,’ उनले भने ।यसैबीच, तीज पर्वकै सन्दर्भमा कुमामोतोमा सक्रिय आसो फुटबल क्लबले लोटस इन्डो नेपाली रेस्टुरेन्टमा दर खाने तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि समाजका अध्यक्ष रोशन भट्टराईले खेलकुद र समाजबीचको सम्बन्धको चर्चा गर्दै क्लबसँग सहकार्य गर्न सधैं इच्छुक रहेको बताए ।

एनआरएनए क्युसुका सह-संयोजक पवन अधिकारीले सांस्कृतिक तथा सामाजिक पर्वहरूलाई मिलेर मनाएझैं, साझा समस्या समाधानमा पनि समाज र क्लबको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए । एनआरएनए क्युसु सदस्य बद्री सापकोटा र सुजन कटुवालले पनि शुभकामना मन्तव्य राखेका थिए ।क्लबका म्यानेजर बिपिन घलेले विदेशमा रहेर पनि खेल क्षेत्रमार्फत देश र समाजलाई चिनाउन मद्दत मिलेको बताए भने क्लब संयोजक मदन गुरुङले चाडपर्व र रीतिरिवाजलाई जहाँ गएपनि सम्मानपूर्वक सम्झनु आवश्यक रहेको भन्दै भावनात्मक एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया