समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालका प्रमुख वामपंथी दलहरूभित्र आन्तरिक विवाद चर्किँदै जाँदा नयाँ ध्रुवीकरणबारे बहस पनि तीव्र बनेको छ। यसैबीच एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रभावशाली नेताहरू सहभागी हुने अन्तरक्रिया कार्यक्रम बुटवलमा हुने भएको छ।
बिहीबार रुपन्देहीको बुटवलस्थित एसोसियन होटल योगीकुटीमा हुने कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ उपस्थित हुनेछन्। कार्यक्रमको तयारी शहिद बेपत्ता स्मृति प्रतिष्ठान, नेपालले गरेको हो।
हाल माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच मतभेद बढिरहेको छ। त्यस्तै, एकीकृत समाजवादीभित्र अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच असन्तुष्टि देखिएको छ। यसैबीच विप्लवले नयाँ कम्युनिष्ट केन्द्रको चर्चा अघि सारेका छन्।
यी परिस्थितिमा हुने बुटवल अन्तरक्रियालाई राजनीतिक रूपमा निकै महत्वका साथ हेरिएको छ। पछिल्लो समय शर्मा, भुसाल र विप्लवले संयुक्त रूपमा अन्तरक्रिया कार्यक्रम गर्दै आपसी सहकार्यलाई अगाडि बढाइरहेका छन्।








