Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीलाई तत्काल कुनै कारबाही वा जरिवाना नगरिने स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र जनमानसमा जरिवाना तिर्नुपर्ने भन्ने व्यापक भ्रम फैलिएपछि विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त हल्ला निराधार भएको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको हो ।

विभागका महानिर्देशक राजिब पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ ।’ विभागले सर्वसाधारणलाई त्रसित नभई आफूलाई अनुकूल पर्ने समयमा सम्बन्धित यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

विज्ञप्तिमा इम्बोस्ड प्लेटमा देवनागरी लिपिको सट्टा अंग्रेजी लिपिको प्रयोग गरिएको विषयमा उठेको चासोलाई समेत सम्बोधन गरिएको छ । विभागले यस सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मंसिर २७ गते गरेको फैसलालाई आधार मानिएको जनाएको छ । उक्त फैसलामा अन्तर्राष्ट्रिय सम्झौताअनुसार अंग्रेजी लिपी प्रयोग गर्नु संवैधानिक र कानुनी रूपमा त्रुटिपूर्ण नहुने ठहर गर्दै सम्बन्धित सबै रिटहरू खारेज गरिएको थियो । सोही फैसलाका आधारमा प्लेट जडान कार्य अघि बढाइएको विभागको भनाइ छ ।

सरकारको ‘डिजिटल नेपाल’ को अवधारणालाई मूर्तरूप दिन र सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्न इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू गरिएको विभागले उल्लेख गरेको छ । यसले सवारीको पहिचान, अपराधिक क्रियाकलाप नियन्त्रण र राजस्व सङ्कलनलाई पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया