समाचार सुन्नुहोस :
काठमाडौँ – युरोप भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीलाई मुलुकले उच्च सम्मान दिनुपर्ने बताएका छन्। उनले विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपैयाँभन्दा बढी पठाइरहेकाले मुलुकको अर्थतन्त्र टिकेको भए पनि उनीहरूलाई नेपाल फर्कँदा विमानस्थलमै दुख दिने गरिएको गुनासो गरे।
पोर्चुगलमा नेपाल आदिवासी जनजाति महासङ्घले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक रुपान्तरण र प्रवासीलाई फर्काउन नीति तथा नेतृत्वमा ठूलो परिवर्तन आवश्यक रहेको बताए। “सही समयमा सही नेतृत्व भए मात्र देश समृद्ध हुन्छ,” उनले जोड दिए।
घिसिङले विद्युत् क्षेत्रमा भएका उपलब्धि उल्लेख गर्दै हाल प्राधिकरणले वार्षिक १२–१५ अर्ब नाफा गरिरहेको र भारत तथा बंगलादेशलाई निर्यात भइरहेको जानकारी दिए। ५० हजार मेगावाट विद्युत् उत्पादन भए नेपालले बर्सेनि ३०–४० खरब रुपैयाँ आम्दानी गर्न सक्ने उनको भनाइ थियो।
विदेशमै बसेर मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, एनआरएन नागरिकता छिट्टै लागू गर्नुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए। नेपाल उज्यालो बनाउन आफूले सुरु गरेको अभियानलाई सहयोग गर्न उनले प्रवासीलाई आग्रह गरे। कार्यक्रममा घिसिङलाई कदरपत्रसहित सम्मान गरिएको थियो। साथै सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।








