समाचार सुन्नुहोस :
काठमाडौँ – आज भाद्र कृष्ण अष्टमीका अवसरमा देशभर ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ। बिहानैदेखि विभिन्न श्रीकृष्ण मन्दिरमा भक्तजनको लाम लागेको छ। पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर, पशुपति क्षेत्र र वसन्तपुर दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिरमा विशेष भीड देखिएको छ। उपत्यकाका गल्ली–चोकमा रहेका कृष्ण, नारायण र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनहरूको घुइँचो छ।
द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्ण जन्मनुभएको विश्वास गरिन्छ। यही दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। वैदिक सनातन धर्मावलम्बीले आज पूजा–आराधना, भजन–कीर्तन र प्रवचन गरेर पर्व मनाउँछन्। महिला–पुरुष व्रत बस्ने र रातभर जाग्राम गर्ने परम्परा पनि छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र दुष्ट प्रवृत्तिको अन्त्य गरी धर्म र सत्यको संरक्षण गर्नुभएको धार्मिक विश्वास छ। कुरुक्षेत्र युद्धका बेला अर्जुनलाई दिएको उपदेशलाई समेटेर तयार भएको ‘श्रीमद्भगवद्गीता’लाई विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।
यस अवसरमा राजधानीसहित विभिन्न स्थानमा धार्मिक संस्थाले झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने चलन छ। कतिपय स्थानमा आज र कतिपयमा भोलि रथयात्रा हुने धर्मशास्त्रविद्हरू बताउँछन्।








