टोकियो – ओसाकामा जारी विश्व प्रदर्शनी (वर्ल्ड एक्सपो) बुधबार राति सबवे प्रणालीमा आएको गम्भीर प्राविधिक गडबडीका कारण प्रभावित बनेको छ । यस घटनाले हजारौं आगन्तुकहरू रातभर कार्यक्रम स्थलमै अलपत्र पर्न बाध्य भए भने भोलिपल्ट बिहीबारको उद्घाटन कार्यक्रममा समेत ढिलाइ हुन पुग्यो ।
शहरको केन्द्रलाई एक्सपो आयोजना भइरहेको कृत्रिम टापु ‘युमेशिमा’सँग जोड्ने एकमात्र सीधा रेलमार्ग, ओसाका मेट्रोको चुओ लाइनमा विद्युत आपूर्ति बन्द हुँदा यो समस्या उत्पन्न भएको हो । बुधबार राति करिब ९:३० बजे, एक्सपो बन्द हुनुभन्दा केवल ३० मिनेट अगाडि रेल सेवाहरू पूर्ण रूपमा ठप्प भएका थिए र भोलिपल्ट बिहान मात्रै पूर्ण सञ्चालनमा आउन सके ।
एक्सपो आयोजकहरूका अनुसार, घटनाको समयमा कार्यक्रम स्थलभित्र करिब ३० हजार मानिस उपस्थित थिए । प्रभावितहरूको यकिन संख्या स्पष्ट नभए पनि, धेरै आगन्तुक र एक्सपोका कर्मचारीहरू रातभर त्यहीँ बस्न बाध्य भएको अनुमान गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार, बिहीबार बिहानसम्म गर्मी तथा अन्य स्वास्थ्य समस्याका कारण ३६ जनालाई अस्पताल लगिएको थियो, यद्यपि कसैको पनि अवस्था गम्भीर छैन ।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा ‘जापान एसोसिएसन फर द २०२५ वर्ल्ड एक्सपो’ का एक वरिष्ठ अधिकारीले भने, ‘धेरै मानिसहरूले कठिन समय भोग्नुपरेकोमा हामी दुःखी छौं । ओसाका मेट्रो कम्पनीले पनि छुट्टै पत्रकार सम्मेलनमार्फत क्षमा याचना गरेको छ । कम्पनीले पटरिसँगै रहेको र रेललाई ऊर्जा दिने ‘थर्ड रेल’ मा आएको समस्याका कारण विद्युत अवरुद्ध भएको जनाएको छ । प्राविधिकहरूले थर्ड रेललाई जोड्ने तारको कभर हटाएपछि समस्या समाधान भएको थियो । उक्त कभरमा जम्मा भएको फलामको धुलो वा अन्य कुनै पदार्थले सर्ट सर्किट गराएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
समस्या सुरु भएपछि, सबवे सञ्चालकले सुरुमा एक्सपोको पूर्वी गेटमा सीधा पहुँच दिने युमेशिमा स्टेसनबाट सेवाहरू रोकेको थियो । राति करिब १०:१० बजे युमेशिमा र अर्को स्टेसन कोसमोस्क्वायरबीच सेवा पुनः सुरु गरिए पनि, बाहिर निस्कने मानिसहरूको भीडले युमेशिमा स्टेसन अस्तव्यस्त बनेपछि पहुँचमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो । आगन्तुकहरूलाई बस तथा अन्य यातायातका साधन प्रयोग गर्न प्रोत्साहित गरिएको थियो ।
सबवेमा खराबी आएपछि, पूर्वी गेटबाट बाहिरिने योजनामा रहेका आगन्तुकहरूलाई एक्सपो स्थलभित्रै रहन अनुरोध गरिएको थियो । मध्यरातको समयमा मानिसहरू एक्सपोको विशाल काठको संरचना, ‘ग्रान्ड रिङ’ मुनि पङ्क्तिबद्ध रूपमा बसिरहेका दृश्यहरू देखिएका थिए । अलपत्र परेकाहरूका लागि राति अबेरसम्म विभिन्न पेभिलियनहरू आश्रयस्थलका रूपमा खुला गरिएको थियो ।








