काठमाडौं – हिन्दुहरूको आस्थाको केन्द्र पशुपति आर्यघाटमा जलिरहेको शवको अंग चोरी-निकासी भएको एक कहालीलाग्दो घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ । गत शुक्रबार काभ्रेका राम शाहीको शव जलाउँदै गर्दा कान्छी औँलाको टुक्रा र खरानी एक अपरिचित व्यक्तिलाई बिक्री गरिएको रहस्य खुलेको हो ।
४०० रुपैयाँको लोभमा यो अमानवीय कार्यमा संलग्न भएको आरोपमा प्रहरीले घाटे ब्राह्मण गणेशप्रसाद ढकाल र उनका सहयोगी विनायक मैनालीलाई पक्राउ गरेको छ । तर, यो घटना सामान्य चोरीको नभई यसको पछाडि तान्त्रिक पूजा वा अन्य कुनै कालो धन्दा लुकेको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।
घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी आफैँ अनुसन्धानमा जुटेका छन् । आरोपीहरूसँगको दुई घण्टा लामो सोधपुछपछि प्रहरी यो निष्कर्षमा पुगेको छ कि, शवको अंग र खरानी लैजाने रहस्यमय व्यक्तिको पहिचान नभएसम्म घटनाको वास्तविकता खुल्ने छैन ।
‘पक्राउ परेकाहरूले एक व्यक्तिलाई भगवानको पूजा गर्नुपर्ने भन्दै मागेपछि सानो कपुरको बट्टामा औँलाको टुप्पो र खरानी दिएको स्वीकार गरेका छन्,’ एसएसपी अधिकारीले भने, ‘तर कुन भगवानको पूजाका लागि मृत शरीरको अंग चाहिन्छ भन्ने प्रश्नले घटनालाई रहस्यमय बनाएको छ । हामी विभिन्न अनुसन्धान विधि प्रयोग गरेर ती व्यक्तिको खोजीमा छौँ ।’
एसएसपी अधिकारीले बाहिर हल्ला भएजस्तो नलीखुट्टा वा ठूलो मासुको टुक्रा बेचिएको नभई औँलाको सानो भाग मात्र दिइएको स्पष्ट पारे । शव जलाइरहँदा मृतकका आफन्तले नै घाटे ब्राह्मणले कसैलाई केही चिज दिएको देखेका थिए । शंका लागेर सोधपुछ गर्दा ती अपरिचित व्यक्ति हिँडिसकेका थिए ।
त्यसपछि आफन्तले तत्काल प्रहरीलाई खबर गरेका थिए, जसको आधारमा काभ्रे, मण्डन देउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल र उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनाली पक्राउ परे । प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।








