Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – सामाजिक सञ्जालमार्फत आएको लगानीको झुटो प्रस्तावमा फसेर जापानका एक ८२ वर्षीय वृद्धबाट करिब २७ करोड ५० लाख येन ठगी भएको छ । शिगा प्रिफेक्चरको ओत्सु शहरका ती वृद्धलाई अपरिचित व्यक्तिले ठूलो नाफाको आश्वासन देखाएर उक्त रकम ठगी गरेको हो ।

स्थानीय प्रहरीका अनुसार, पीडित वृद्धलाई गत मे महिनामा उनको ‘लाइन’ नामक सामाजिक सञ्जाल खातामा दुईवटा लगानी समूहमा सामेल हुन निरन्तर निम्तो आएको थियो । निम्तो स्वीकार गरेपछि, आफूलाई लगानी सहायक बताउने व्यक्तिहरूले उनलाई ‘तपाईंले नाफामुखी सेयर खरिद गर्नका लागि चिठ्ठा जित्नुभएको छ, कृपया रकम जम्मा गर्नुहोस्, जित्ने सम्भावना धेरै छ’ जस्ता भ्रामक सन्देश पठाएर प्रलोभनमा पारेका थिए ।

यही प्रलोभनमा परेर वृद्धले जुलाई २४ सम्ममा ३६ पटक गरी कूल २३ वटा अनलाइन खाताहरूमा २७ करोड ५० लाख येन रकम पठाइसकेका थिए । ठगहरूले उनलाई नाफा बढिरहेको देखाउन नक्कली ग्राफसमेत पठाएका थिए । तर जब वृद्धले आफ्नो पैसा झिक्न खोजे, तब उनलाई थप शुल्क लाग्ने बताइयो । यसले उनलाई शंका लाग्यो र आफ्नो छोरासँग सल्लाह गरेपछि मात्र आफू ठगिएको महसुस गरे ।

पीडित वृद्धले प्रहरीलाई भने, ‘मलाई लगानी ठगी र यसका तरिकाहरू बारे थाहा थियो, तर म आफैँ यसरी मूर्ख बन्छु भन्ने सोचेको थिइनँ ।

सामाजिक सञ्जालमा हुने यस्ता ठगीहरूमा प्रायः नक्कली प्रोफाइल बनाएर, छिटो र उच्च प्रतिफलको झुटो आश्वासन दिएर वा प्रतिष्ठित व्यक्ति र कम्पनीको नाम दुरुपयोग गरेर विश्वास जित्ने प्रयास गरिन्छ । यस्ता ठगहरूले सुरुमा केही लगानीकर्तालाई अरूकै पैसाबाट नाफा दिएर विश्वासिलो भएको भ्रम छर्छन्, जसलाई ‘पोन्जी स्किम’ पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया