काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि केन्द्रीय सदस्य तथा सांसद डा. तोसिमा कार्कीले पार्टीको केन्द्रीय समिति बैठकमा आफूले सह-महामन्त्री पदका लागि प्रस्तावित व्यक्तिको नभई, नियुक्तिको विधिको मात्र विरोध गरेको स्पष्ट पारेकी छिन् । शुक्रबार बसेको बैठकमा दीपक बोहरालाई सह-महामन्त्री बनाउने प्रस्तावप्रति उनले असहमति जनाएकी थिइन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कार्कीले पार्टीभित्र लोकतान्त्रिक पद्धति र विधि स्थापित गराउन आफूले आवाज उठाएको बताएकी हुन् । उनले भनेकी छिन्, ‘मैले सह-महामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन, केन्द्रीय समितिमा एजेन्डाअनुरूप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेकी हुँ ।’
बैठकको कार्यसूचीमा नभएको विषयलाई एक्कासि निर्णयका लागि प्रस्ताव गरिएपछि आफू र अर्का केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले असहमति जनाएको उनको भनाइ छ । डा. कार्कीले रिक्त रहेको सह-महामन्त्री पदमा आफ्नो कुनै दाबी नरहेको पनि प्रष्ट पारेकी छिन् । ‘यो सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन,” उनले भनेकी छिन्, “मैले कुनै पदमा दाबी गर्नुपरे म चुनावमार्फत नै आउनेछु ।’
उनका अनुसार, पार्टी सचिवालय र पदाधिकारीले उक्त विषयलाई सकारात्मक रूपमा लिँदै थप गृहकार्य गरेर मात्र अघि बढ्ने निर्णय गरेको छ, जसले रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो भन्ने प्रमाणित गर्छ । सांसद सुमना श्रेष्ठले राजीनामा दिएपछि रास्वपामा एक सह-महामन्त्री पद रिक्त छ । सदस्यहरूको विरोधपछि दीपक बोहरालाई सह-महामन्त्री बनाउने प्रस्ताव हाललाई फिर्ता भएको छ ।








