Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
क्रमशः सुलभ खरेल, पार्थवेन्द्र उपााध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता (जेबी), कसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल ।

काठमाडौं – रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गइरहेको उपनिर्वाचनले राजनीतिक वृत्तमा सरगर्मी बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेसँगै यो चासो थप चुलिएको हो ।

सार्वजनिक गरिएको ९ जना आकांक्षीको सूचीमा नेकपा एमालेको राजनीतिक विरासत बोकेका परिवारका सदस्यदेखि उपनिर्वाचनकै लागि अमेरिकाबाट फर्किएका युवासम्म समेटिएपछि यसले सबैको ध्यान तानेको छ । सूचीमा सबैभन्दा बढी चर्चामा रहेका व्यक्ति हुन्, पार्थिवेन्द्र उपाध्याय । उनी सूचीको दोस्रो नम्बरमा छन् र उनको पारिवारिक पृष्ठभूमि नेकपा एमालेसँग गहिरो गरी जोडिएको छ । उनका बुवा धनपति उपाध्याय एमालेका पूर्वसांसद थिए भने आमा पुष्पाञ्जली उपाध्याय पनि एमालेकी नेतृ हुन् । अझ रोचक त के छ भने, उनकी श्रीमती उमा अधिकारी हाल सिद्धार्थनगर नगरपालिकाकी उपमेयर हुन् र उनी एमालेबाटै निर्वाचित भएकी थिइन् ।

एमालेको यस्तो बलियो राजनीतिक विरासत भएको परिवारका सदस्य भए पनि पार्थिवेन्द्रले भने आफूलाई सधैँ वैकल्पिक राजनीतिको पक्षमा उभ्याएको दाबी गर्छन् । रुपन्देही क्याम्पस प्रमुखबाट राजीनामा दिएर चुनावी दौडमा होमिएका उनले आफ्नो परिवार एमालेमा भए पनि त्यहाँको कार्यशैलीप्रति आफू कहिल्यै आकर्षित नभएको बताए । उनले २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएको स्मरण गर्दै आफूले यस क्षेत्रका समस्यालाई नजिकबाट बुझेको र त्यसको समाधानका लागि रास्वपा उपयुक्त मञ्च भएको विश्वास व्यक्त गरे ।रास्वपाको सूचीको पहिलो नम्बरमा रहेका सुलभ खरेलको कथा पनि उत्तिकै रोचक छ । अमेरिकामा बस्दै आएका कानुनका विद्यार्थी खरेल यही उपनिर्वाचनमा भाग लिन नेपाल फर्किएका हुन् । उनले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कानुनी रूपमा सघाएको पार्टी कार्यकर्ताहरू बताउँछन् ।

त्यस्तै, आकांक्षीहरूको सूचीमा अन्य पेसा र क्षेत्रका व्यक्तिहरू पनि सामेल छन् । न्युरो सर्जन डा. लेखजङ्ग थापा, गैरसरकारी संस्था सञ्चालनको लामो अनुभव बोकेका र पछिल्लो समय सहकारी अभियन्ताका रूपमा चिनिएका ज्ञानु पौड्याल, र अघिल्लो निर्वाचनमा पनि रास्वपाबाटै उम्मेदवार बनेका जितबहादुर (शेखर) गुप्ताले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

सूचीमा भक्तपुर निवासी कुसुम महर्जन, पार्टीका क्षेत्रीय सभापति मधु प्रकाश अर्याल, रास्वपा रुपन्देहीकी कोषाध्यक्ष रचना क्षेत्री र महिला उद्यमी पुनम कुमारी अग्रवाल पनि अटाएका छन् । यसरी हेर्दा रास्वपाले सार्वजनिक गरेको सूचीमा एमाले पृष्ठभूमि भएका व्यक्तिहरूको बाहुल्य देखिनुले उपनिर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक हुने संकेत गरेको छ ।

उम्मेदवार छनोटमा नौलो प्रयोग
उम्मेदवार छनोटका लागि अपनाएको नौलो र पारदर्शी प्रक्रियाले यसलाई थप रोचक बनाएको छ । पार्टीले प्राइमरी निर्वाचन, राजनीतिक सक्रियता, समावेशिता र नेतृत्व क्षमताजस्ता चार मापदण्डका आधारमा भदौ १५ गते अन्तिम उम्मेदवार टुंगो लगाउनेछ ।

पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यका अनुसार, उम्मेदवार छनोटमा सबैभन्दा बढी ५० प्रतिशत अंकभार प्राइमरी निर्वाचनको हुनेछ, जहाँ पार्टी सदस्यहरूले मोबाइल एपमार्फत भदौ १२ र १३ गते अनलाइन भोटिङ गर्नेछन् । समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।

मतदातालाई सूचीका कुनै पनि उम्मेदवार मन नपरे ‘नन अफ द एबोभ’ (कुनै पनि उम्मेदवार मन परेन) मा मतदान गर्ने अधिकार समेत दिइएको छ । यदि यही विकल्पले बहुमत पाएमा सम्पूर्ण उम्मेदवार स्वतः खारेज भई नयाँ प्रक्रिया थालिनेछ ।

विगतको अंकगणित
२०७९ सालको निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहराले ३६ हजार ७ सउ १७ मत ल्याएर जितेका थिए भने कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए । यद्यपि, समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा बढी २० हजार २ सय ७८, एमालेले १६ हजार ९ सय ८६ र रास्वपाले १४ हजार १ सय ५४ मत पाएको थियो । यो नतिजाले क्षेत्रमा रास्वपाको पनि बलियो उपस्थिति देखाउँछ ।

२०७४ मा एमालेका घनश्याम भुसालले जितेको यो क्षेत्रमा गठबन्धन र दलीय समीकरणहरू बारम्बार फेरबदल भइरहेका छन् । रास्वपाको पारदर्शी छनोट प्रक्रिया र विगतको चुनावी अंकगणितले रुपन्देही-३ को उपनिर्वाचनलाई अत्यन्तै प्रतिस्पर्धात्मक र अप्रत्याशित बनाएको छ ।

तपाईको प्रतिक्रिया