समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएका छन्। ‘भिजिट भिसा सेटिङ’ प्रकरणमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने मागसहित उनीहरूले प्रतिनिधिसभा बैठक जेठमा १३ गतेपछि १४, १५, २२, २५, २६, २८, २९ र ३० गते बसेको संघीय संसद् सचिवालयको रेकर्डमा उल्लेख छ । असारमा १, २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, २३, २४, २५, २९, ३० र ३१ गते बसेको रेकर्डमा देखिन्छ । त्यस्तै साउनमा अहिलेसम्म ७, ८, ९, १९, २० र २१ गते प्रतिनिधिसभा बैठक बसेको छ ।
तर संघीय संसद् सचिवालयका अनुसार, बैठकमा सहभागी नहुँदा पनि रास्वपाका अधिकांश सांसदले कानुनअनुसार पाउने दैनिक बैठक भत्ता (प्रति बैठक १ हजार रुपैयाँ) र यातायात खर्च (प्रति बैठक १ हजार रुपैयाँ) बुझिरहेका छन्। जेठ र असार महिनामा १९ सांसदले २६ दिनको बैठक भत्ता ४ लाख ९४ हजार रुपैयाँ र १८ सांसदले यातायात खर्च ४ लाख ६८ हजार रुपैयाँ पाएका छन्। यो रकममा कर (‘टीडीएस’) काटिने सचिवालयले जनाएको छ।
रास्वपाका २१ सांसदमध्ये सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुस ७ गतेदेखि निलम्बित छन् भने इन्दिरा रानामगर उपसभामुख भएकाले उनीहरूलाई भत्ता फरक रूपमा मिल्छ। बाँकी १९ मध्ये प्रमुख सचेतक सन्तोष परियारलाई गाडी सुविधा भएकाले यातायात खर्च दिइँदैन। बैठक बहिष्कारको क्रममा पनि सांसदहरूले भत्ता बुझिरहेकाले यो विषयमा आलोचना भइरहेको छ।








