समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका सांसद योगेश भट्टराईले बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले अझै प्रभावकारी कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री भट्टराईले सन् २०२३ अक्टोबरमा हमासद्वारा कब्जा गरिएका जोशी २ वर्षदेखि बेपत्ता रहेको स्मरण गराए। उनले भने, “आजसम्म पनि उहाँको अवस्थाबारे कुनै जानकारी सार्वजनिक भएको छैन। नेपाल सरकारले यस विषयमा अझ सक्रिय र प्रभावकारी पहल गर्नुपर्छ।”
भट्टराईले नेपालले कुनै पनि मुलुकलाई शत्रु नठानेको र नेपाली सेना वा नागरिक कुनै पनि दुई राष्ट्रबीचको युद्धमा सहभागी नभएको उल्लेख गरे। उनले यस्तो तटस्थ नीतिका बाबजुद नेपाली नागरिक विभिन्न मुलुकमा बन्धक बन्नु दुखद भएको बताए।








