समाचार सुन्नुहोस :
काठमाडौँ – बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार उनको राजीनामा स्वीकृत गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका छन्। प्रदेशसभामा बहुमत प्राप्त गर्न दुई वा बढी दलको समर्थन आवश्यक रहनेछ। इच्छुक प्रदेशसभा सदस्यले साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।
लामा नेपाली कांग्रेसबाट नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पार्टीको संसदीय दलको नेतामा पराजित भएपछि उनले आइतबार बेलुकी राजीनामा घोषणा गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई राजीनामा दिएर नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्न मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए।








