समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रस्थान गर्दैछन्।
साउन २० देखि २३ गतेसम्म चल्ने सम्मेलनमा ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा ओलीले सम्मेलनमा सम्बोधन गर्नेछन्। साथै, उनी एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने र अन्य विभिन्न कार्यक्रमहरूमा पनि बोल्नेछन्।
भ्रमणका क्रममा उनले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुख, संयुक्त राष्ट्रसंघका अधिकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य वरिष्ठ सरकारी अधिकारी सहभागी हुनेछन्। उनी साउन २३ गते स्वदेश फर्कनेछन्।








