समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चर्चित गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) पनि परेका छन्। उनी महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। चक्रे मिलन यसअघि पनि २०७४ सालमा त्यही क्षेत्रबाट पक्राउ परेका थिए।
प्रहरीको अपरेसन बिहीबार राति चलाइएको थियो। काठमाडौँका एसएसपी विश्व अधिकारीको नेतृत्वमा अपरेसन चलाइएको हो। उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङका अनुसार, अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो र उनीहरूको संख्या अझै यकिन हुँदै छ।
साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ ‘सानुभाइ’ पनि पक्राउ परेका छन्। उनी नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा झगडा गर्दा पक्राउ परेका हुन्। सानुभाइ, प्रहरी इन्काउन्टरमा मारिएका कुमार ‘घैँटे’का सहयोगी मानिन्छन्।
रेष्टुरेन्ट र रात्रिकालीन क्लबहरूमा झैझगडा र हप्ता असुलीका गुनासो बढेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको हो। पक्राउ परेकाहरूको स्क्रिनिङ गरी थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।








