काठमाडौं – रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । प्रारम्भिक रिपोर्टहरूअनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको बताइएको छ ।
साइबेरियास्थित ‘अंगारा’ एयरलाइन्सद्वारा सञ्चालित सोभियतकालीन एन्टोनोभ एन-२४ (An-24) विमान चीनसँग सिमाना जोडिएको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो । रुसको आपतकालीन मन्त्रालयका अनुसार, खोजी कार्यमा खटिएको एमआई-८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष टिन्डा विमानस्थलबाट करिब १६ किलोमिटर टाढाको एक पहाडी इलाकामा फेला पारेको थियो ।
विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार रहेको क्षेत्रीय गभर्नर भासिली ओर्लोभले जानकारी दिएका छन् । टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ । विमान अवतरणको लागि दोस्रो प्रयास गर्दा सम्पर्कविहीन भएको बताइएको छ । घना जंगल र दलदले भू-भागका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनाग्रस्त विमान करिब ५० वर्ष पुरानो भए पनि यसको उडान योग्यताको प्रमाणपत्र सन् २०३६ सम्मका लागि वैध रहेको बताइएको छ । रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू पूर्ण रूपमा रोकिएका छैनन् ।
यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन-२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन-२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।








