टोकियो – जापानमा चामलको मूल्यमा भएको अचाक्ली वृद्धिले आम सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ भने अर्कोतर्फ यसले प्रधानमन्त्री शिगेरु इशिबाको सरकारलाई दबाब बढेको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्यांकअनुसार जुन महिनामा चामलको मूल्य गत वर्षको सोही अवधिको तुलनामा ९९.२ प्रतिशतले बढेको हो ।
यो मूल्यवृद्धिले यसै साता हुने चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री इशिबामाथि थप दबाब सिर्जना गरेको छ । चामलको मूल्यवृद्धि यो स्तरमा पुगेको पहिलो पटक होइन । यसअघि मे महिनामा १०१ प्रतिशत, अप्रिलमा ९८.४ प्रतिशत र मार्चमा ९२.५ प्रतिशतले मूल्य बढेको थियो । समग्रमा, जापानको मूल मुद्रास्फीति दर भने मे महिनाको ३.७ प्रतिशतबाट घटेर जुनमा ३.३ प्रतिशतमा झरेको छ । अस्थिर मानिने ताजा खाद्य वस्तुको मूल्य बाहेकको यो आँकडा बजारको ३.४ प्रतिशतको अपेक्षाभन्दा केही कम हो ।
महँगी, विशेषगरी चामलको मूल्यवृद्धि र सत्तारुढ दलभित्रका घोटालाका कारण इशिबा प्रशासनप्रतिको जनसमर्थन उनी गत अक्टोबरमा प्रधानमन्त्री बनेयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ । गत अक्टोबरमा भएको निर्वाचनमा ६८ वर्षीय इशिबाको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाइसकेको छ । यो सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का लागि १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजा थियो, जसले सन् १९५५ देखि जापानमा लगभग निरन्तर शासन गर्दै आएको छ ।
आइतबार हुने माथिल्लो सदनको चुनावमा पनि सत्तारुढ गठबन्धनले बहुमत गुमाउन सक्ने मत सर्वेक्षणहरूले देखाएका छन्। यस्तो नतिजा आएमा, इशिबाले एक वर्षभन्दा कम समयमै पदबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ ।
अमेरिकी व्यापार दबाब
प्रधानमन्त्री इशिबा अमेरिकाद्वारा आगामी अगस्ट १ देखि लगाइने २५ प्रतिशतको नयाँ भन्सार शुल्क लागू हुनुअघि नै व्यापार सम्झौतामा पुग्न थप दबाबमा छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा जापानका महत्त्वपूर्ण अटोमोबाइल आयातमा पहिल्यैदेखि महँगो शुल्क लगाइएको छ, जसरी स्टिल र आल्मुनियममा लगाइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कम्पनीहरूले अमेरिकामा थप उत्पादन गरुन् र टोकियोले ७० अर्ब डलरको व्यापार घाटा कम गर्न ग्यास, तेल, कार र चामल जस्ता अमेरिकी वस्तुहरू बढी खरिद गरोस् भन्ने चाहना राखेका छन् । सम्झौताका लागि इशिबाले आफ्ना व्यापार दूत रयोसेई अकाजावालाई सात पटक वासिङ्टन पठाइसकेका छन् भने शुक्रबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चामलको मूल्य बढ्नुका पछाडि दुई वर्षअघि अत्यधिक गर्मी र खडेरीका कारण देशभर बालीमा क्षति पुगेर उत्पादनमा कमी आउनुलाई प्रमुख कारण मानिएको छ । विज्ञहरूका अनुसार त्यसयता केही व्यापारीहरूले भविष्यमा थप नाफा कमाउने उद्देश्यले चामलको कृत्रिम अभाव सिर्जना (होर्डिङ) गरिरहेका छन् ।
गत वर्ष सरकारले एक सम्भावित ‘महाभूकम्प’को चेतावनी दिएपछि नागरिकहरू अत्तालिएर खाद्यान्न खरिद गर्न थालेका थिए, जसले गर्दा समस्या झनै चुलियो । यद्यपि उक्त भूकम्प आएन । अवस्था नियन्त्रणमा लिन सरकारले फेब्रुअरीदेखि आफ्नो आपतकालीन भण्डारबाट चामल वितरण गर्न थालेको छ, जुन सामान्यतया विपद्को समयमा मात्र गरिन्थ्यो ।








