काठमाडौं – बिहीबार बिहानै अलास्काको दक्षिणी तट शक्तिशाली भूकम्पको झड्काले हल्लिएको छ । स्थानीय समयअनुसार बिहान करिब सवा २ बजे महसुस गरिएको उक्त भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.३ मापन गरिएको छ । भूकम्पलगत्तै तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए, यद्यपि केही घण्टापछि चेतावनी फिर्ता लिइएको थियो ।
अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्का प्रायद्वीपको स्यान्ड पोइन्ट क्षेत्रबाट करिब १०९ किलोमिटर दक्षिणपूर्वमा, जमिनको सतहबाट ३६ किलोमिटर गहिराइमा रहेको थियो । हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन, तर अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
अलास्का भूकम्प विज्ञान केन्द्रका अनुसार यो क्षेत्र पछिल्लो समय भूकम्पीय रूपमा निकै सक्रिय रहेको छ । पछिल्लो एक हप्तामा मात्रै यहाँ ४०० पटक भूकम्पका झड्का महसुस गरिएका छन् । यसमध्ये सबैभन्दा ठूलो भूकम्प १६ जुलाईमा अटका क्षेत्रमा ५.१ म्याग्निच्युडको मापन गरिएको थियो ।
वैज्ञानिकहरूका अनुसार प्रशान्त महासागरीय प्लेट र उत्तर अमेरिकी प्लेट एकआपसमा ठोक्किने सबडक्शन जोनमा यो भूकम्प गएको हो । मिसिगन टेक्नोलोजिकल विश्वविद्यालयका अनुसार ७.० देखि ७.९ म्याग्निच्युडको भूकम्पले ठूलो विनाश निम्त्याउन सक्ने क्षमता राख्दछ ।
अलास्का अमेरिकाको सबैभन्दा बढी भूकम्पीय जोखिम भएको राज्य हो । विश्वका करिब ११ प्रतिशत र अमेरिकाका १७.५ प्रतिशत भूकम्प यही राज्यमा जाने गर्दछन् । यहाँ हरेक वर्ष औसतमा १० देखि १५ वटा शक्तिशाली भूकम्पहरू मापन हुने गरेका छन् ।
सन् १९६४ को मार्च महिनामा अलास्कामा गएको ९.२ म्याग्निच्युडको महाभूकम्पलाई उत्तरी अमेरिकाको इतिहासकै सबैभन्दा शक्तिशाली मानिन्छ । उक्त भूकम्पले एन्कोरेज शहरलाई ध्वस्त बनाएको थियो भने त्यसपछिको सुनामीले अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईसम्म व्यापक क्षति पुर्याएको थियो ।








