काठमाडौं – मध्यपूर्वमा इजरायल र इरानबीच तनाव उत्कर्षमा पुगेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्त्वपूर्ण कूटनीतिक पहल अघि सारेका छन् । उनले इरानको शान्तिपूर्ण आणविक कार्यक्रमलाई समर्थन गर्दै इजरायलको राष्ट्रिय सुरक्षा चिन्तालाई समेत सम्बोधन गर्ने गरी ‘सम्भावित समाधान’ को प्रस्ताव अघि बढाएको खुलासा गरेका छन् ।
एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा राष्ट्रपति पुटिनले प्रस्तावको विस्तृत विवरण नखुलाइकनै रुसले यस विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग गहन छलफल गरेको र आफ्ना इरानी समकक्षीहरूलाई ठोस प्रस्ताव पठाइसकेको पुष्टि गरे । ‘यो सम्भव छ,’ पुटिनले भने, ‘हामीले शान्तिपूर्ण आणविक ऊर्जामा इरानको वैध चासोलाई पूरा गर्न सक्छौँ र एकै समयमा आफ्नो राष्ट्रिय सुरक्षाबारे इजरायलको चिन्तालाई पनि सम्बोधन गर्न सक्छौँ ।’
उनले रुसले इरानको आणविक गतिविधिलाई लिएर चलिरहेको तनाव अन्त्य गर्न एउटा व्यावहारिक समाधान प्रस्ताव गरेको तर अन्तिम निर्णय सम्बन्धित देशहरूको राजनीतिक नेतृत्वमा निर्भर रहने कुरामा जोड दिए । पुटिनले रुस र इरानबीचको उच्चस्तरीय विश्वासले आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगमा फलदायी सहयोगको ढोका खोलेको बताए। उनले कृषि र औषधिजस्ता क्षेत्रमा समेत यो सहकार्य विस्तार हुन सक्ने सङ्केत दिए ।
इरानको नागरिक आणविक कार्यक्रममा रुसको लामो समयदेखिको संलग्नतालाई स्मरण गर्दै उनले बुसेहर आणविक ऊर्जा केन्द्रको निर्माण सम्पन्न गर्नु एक महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । सुरुमा जर्मन कम्पनीहरूद्वारा डिजाइन गरिएको यो परियोजनालाई पछि रुसको सरकारी आणविक निगम ‘रोसाटम’ले पूरा गरेको थियो । ‘यो एक चुनौती थियो, किनकि हामीले जर्मन डिजाइनलाई रुसी मापदण्डमा ढाल्नुपरेको थियो । तर हामी सफल भयौँ र आज प्लान्ट सफलतापूर्वक सञ्चालनमा छ,’ उनले भने ।
रुसले बुसेहरमा थप दुईवटा रिएक्टर निर्माण गर्ने सम्झौता गरिसकेको र हाल २०० भन्दा बढी रुसी विशेषज्ञहरू उक्त स्थलमा कार्यरत रहेको पुटिनले जानकारी दिए । पुटिनको यो प्रस्ताव यस्तो समयमा आएको छ, जब इजरायल र इरानबीचको तनाव खतरनाक स्तरमा पुगेको छ । गत जुन १३ मा इजरायलले इरानको आणविक पूर्वाधारलाई लक्षित गरी ‘अपरेसन राइजिङ लायन’ सुरु गरेपछि इरानले पनि जवाफी हमला गरेको थियो ।








