टोकियो – पश्चिमी जापानको एक पूर्व मिशेलिन-स्टार विजेता रेस्टुरेन्टका सञ्चालक परिवारका तीन सदस्य पक्राउ परेका छन् । फुड पोइजनिङको शृंखलाबद्ध घटनापछि रेस्टुरेन्ट बन्द गर्न दिइएको सरकारी आदेशको अवज्ञा गरेको आरोपमा उनीहरूलाई सोमबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ६९ वर्षीय हिरोकाजु कितानो, उनका ४१ वर्षीय छोरा हिरोतोशी कितानो र ६८ वर्षीया श्रीमती नोरिको रहेका छन् । उनीहरूले ओसाका प्रिफेक्चरको कावाचिनागानोमा ‘किइची’ नामक परम्परागत जापानी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । उनीहरूमाथि खाद्य स्वच्छता ऐन उल्लंघन गरेको आरोप लगाइएको छ ।
प्रान्तीय सरकारका अनुसार, सो रेस्टुरेन्टमा खाना खाएका वा त्यहाँबाट बिक्री भएको ‘बेन्तो’ बक्स खाना खाएका ३३ जना ग्राहकलाई बान्ता र पखाला भएपछि फेब्रुअरी १५ मा रेस्टुरेन्टलाई दुई दिनका लागि बन्द गर्न आदेश दिइएको थियो । बिरामी परेका केहीमा नोरोभाइरस भेटिएको थियो, जसलाई स्थानीय जनस्वास्थ्य केन्द्रले फुड पोइजनिङसँग जोडेको थियो ।
तर, अनुसन्धानका क्रममा रेस्टुरेन्टले निलम्बनको आदेश पाएको भोलिपल्ट, अर्थात् फेब्रुअरी १६ मा पनि ‘बेन्तो’ बक्सहरू बिक्री गरिरहेको खुलासा भएको थियो । यही आदेश उल्लंघनका कारण उनीहरू पक्राउ परेका हुन् ।
त्यति मात्र होइन, फेब्रुअरी २२ देखि २४ को बीचमा रेस्टुरेन्टमा खाना खाएका थप २३ जना बिरामी परेका थिए र उनीहरूमा पनि नोरोभाइरस पुष्टि भएको थियो । दोस्रो घटनापछि अधिकारीहरूले मार्च २ देखि रेस्टुरेन्टलाई अनिश्चितकालका लागि बन्द गर्न आदेश दिएका थिए ।








