समाचार सुन्नुहोस :
काठमाडौँ – प्रसिद्ध इटालियन-सिनिगाली टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले भिसा अनुमतिभन्दा बढी समय बसेको भन्दै अमेरिकाबाट निष्कासित गरेको छ। तर औपचारिक रूपमा निष्कासन नभई स्वेच्छिक रूपमा अमेरिका छाड्न अनुमति दिइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
२५ वर्षीय लामेलाई जुन ६ मा लास भेगासको ह्यारी रेड अन्तर्राष्ट्रिय विमानस्थलबाट आप्रवासन निकाय आईसीईले नियन्त्रणमा लिएको थियो। उनी २०२५ अप्रिल ३० मा अमेरिका प्रवेश गरेका थिए। आईसीईले सोही दिन उनलाई स्वेच्छिक प्रस्थानका रूपमा मुक्त गरिदिएको हो। यसरी स्वेच्छिक रूपमा देश छाडेपछि भविष्यमा अमेरिका प्रवेशमा थप समस्या नआउने बताइएको छ।
लामेले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर पूर्वराष्ट्रपति डनल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पका नजिकका मित्र तथा इन्फ्लुएन्सर बो लोउडनले सामाजिक सञ्जालमा पहिलोपटक यो घटना सार्वजनिक गरेका थिए। लोउडनले लामे अमेरिकामा अवैध रूपमा बसेको जानकारी आफूले नै अधिकारीलाई दिएको दाबी पनि गरेका छन्।
टिकटकमा १६ करोडभन्दा बढी फलोअर्स भएका लामे कोभिड महामारीको बेला जागिर गुमाएपछि भाइरल भएका थिए। सन् २०२२ मा उनी टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति बनेका थिए। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएयता अवैध आप्रवासीहरूविरुद्ध कडा नीति लागू गरिएको छ।








