Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्ने सन्दर्भमा एक आधारभूत रूपरेखामा सहमति जुटेको बताएका छन् ।

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले यो सम्झौताले दुर्लभ खनिज र म्याग्नेट्समाथिको प्रतिबन्ध हटाउने दिशामा प्रगति हुने बताएका छन् । दुवै पक्षले अब यो योजना आफ्ना राष्ट्रपतिहरू ( डोनाल्ड ट्रम्प र सी जिनपिङ) को स्वीकृतिका लागि पठाउने बताएका छन् । यो घोषणा लन्डनमा दुई दिनसम्म चलेको बेइजिङ र वाशिङ्टनका उच्च अधिकारीहरूबीचको वार्तापछि आएको हो ।

दुर्लभ खनिजहरूको चिनियाँ निर्यात (जुन आधुनिक प्रविधिका लागि अत्यावश्यक छन्) वार्ताको प्रमुख एजेन्डा थियो । गत महिना वाशिङ्टन र बेइजिङबीच भन्सार महसुल (ट्यारिफ) सम्बन्धी अस्थायी युद्धविराम भएको थियो तर त्यसयता दुबै देशले सम्झौता उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् ।

अमेरिकाले चीनले दुर्लभ धातु र म्याग्नेट्सको निर्यात ढिलो गरेको आरोप लगाएको छ, जुन स्मार्टफोनदेखि लिएर इलेक्ट्रिक सवारीसम्म बनाउन आवश्यक पर्छ । त्यसैगरी, वाशिङ्टनले चीनलाई अमेरिकाबाट अर्धचालक (सेमिकन्डक्टर) र कृत्रिम बौद्धिकता (AI) सम्बन्धी प्रविधिहरूमा पहुँच रोक लगाएको छ ।

“हामीले जेनेभा सहमतिलाई कार्यान्वयन गर्ने एक रूपरेखा तय गरेका छौं,” लुटनिकले पत्रकारहरूलाई भने । “राष्ट्रपतिहरूले स्वीकृति दिएपछि हामी कार्यान्वयनको दिशामा जानेछौं,” उनले थपे । यो वार्ताको नयाँ चरण अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीच गत साता भएको फोनवार्तापछि सुरु भएको हो, जसलाई ट्रम्पले “धेरै राम्रो कुराकानी” भनेर वर्णन गरेका थिए।

“दुई राष्ट्रपतिहरूबीच जुन ५ मा भएको फोनवार्ता र जेनेभा बैठकमा भएको सहमतिलाई कार्यान्वयन गर्ने रूपरेखामा दुबै पक्षले सैद्धान्तिक सहमति गरेका छन्,” चिनियाँ उपवाणिज्य मन्त्री ली चेङ्गगाङले भने । यस वर्षको सुरुवातमा ट्रम्पले थुप्रै देशहरूबाट हुने आयातमा व्यापक भन्सार महसुल घोषणा गर्दा चीन सबैभन्दा बढी प्रभावित भएको थियो । त्यसको जवाफमा बेइजिङले पनि अमेरिकी आयातमा उच्च दरको महसुल लगाएको थियो, जसले दुवैतर्फबाट पालैपालो महसुल बढाउने क्रम सुरु भयो र त्यो १४५% सम्म पुग्यो।

मे महिनामा स्विजरल्यान्डमा भएको वार्ताले अस्थायी युद्धविराम ल्याएको थियो, जसलाई ट्रम्पले “सम्पूर्ण पुनःस्थापना” (total reset) भनेका थिए । त्यस सहमतिले अमेरिकी ट्यारिफलाई ३०% मा झारेको थियो भने चीनले पनि अमेरिकी सामानमाथिको महसुल १०% मा घटाएको थियो र दुर्लभ खनिज निर्यातमा रहेको अवरोध हटाउने वाचा गरेको थियो। दुबै पक्षलाई व्यापार सम्झौताको प्रयास गर्न ९० दिने समयसीमा दिइएको थियो।

तर त्यसयता अमेरिका र चीन दुबैले गैर-ट्यारिफ प्रतिबद्धताहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चीनले दुर्लभ म्याग्नेट्सको निर्यातमा प्रतिबन्ध नहटाएको बताएका छन् । चीनले भने अमेरिका दोषी रहेको भन्दै चिनियाँ कम्पनीहरूलाई कम्प्युटर चिप डिजाइन सफ्टवेयर बिक्री नगर्ने, चिनियाँ प्रविधि कम्पनी हुवावेका चिपहरू प्रयोग नगर्न चेतावनी दिने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने जस्ता कार्यहरू उल्लेख गरेको छ।

यस साता भएको वार्ताअघि, चीनको वाणिज्य मन्त्रालयले शनिबार केही दुर्लभ खनिजको निर्यात अनुमति दिने निवेदनहरू स्वीकृत गरेको जनाएको थियो, यद्यपि कुन देशहरू समावेश थिए भन्ने विवरण भने दिइएको थिएन । शुक्रबार ट्रम्पले सी जिनपिङले दुर्लभ खनिजको व्यापार पुनः सुरु गर्ने सहमति जनाएको बताएका थिए ।

तपाईको प्रतिक्रिया