टोकियो – जापानको अर्थतन्त्र सन् २०२५ को जनवरी-मार्च त्रैमासिक अवधिमा संकुचित भएको छ, जुन एक वर्षयता पहिलो पटक आर्थिक गिरावटको संकेत हो ।
शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांक अनुसार वार्षिक रुपमा वास्तविक सकल घरेलु उत्पादन (जीडीपी) ०.७ प्रतिशतले घटेको छ, जसले देशभित्रको माग पहिले नै कमजोर भइरहेको स्पष्ट देखाएको छ । मन्त्रिपरिषद् कार्यालयले जनाएको अनुसार, सन् २०२५ को पहिलो त्रैमासिकमा महँगी समायोजित (inflation-adjusted) वास्तविक जीडीपी अघिल्लो अक्टोबर–डिसेम्बर अवधिबाट ०.२ प्रतिशतले घटेको छ । उपभोक्ता खर्चमा आएको कमजोरी, महँगी तथा आयात लागतको वृद्धिले अर्थतन्त्रलाई दबाबमा पारेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी वस्तुहरूमा अप्रिलदेखि भारी ट्यारिफ लगाउन थालेपछि जापानको निर्यात-निर्भर अर्थतन्त्र थप संकुचनमा जान सक्ने चिन्ता बढेको छ । यसले घरायसी तथा कर्पोरेट धारणा पनि कमजोर पार्न सक्ने सम्भावना छ । सरकारी आँकडा अर्थशास्त्रीहरूको अनुमानभन्दा कमजोर देखिएको छ ।
जापान सेन्टर फर इकोनोमिक रिसर्चद्वारा गरिएको सर्वेक्षणमा ३७ अर्थशास्त्रीहरूले वार्षिक ०.१९ प्रतिशतको संकुचनको अनुमान गरेका थिए । जीडीपी भन्नाले कुनै देशमा उत्पादित वस्तु तथा सेवाहरूको कुल मूल्य जनाउने सूचक हो । यो पछिल्लो आर्थिक तथ्यांक त्यस्तो समयमा आएको हो जब प्रधानमन्त्री शिगेरु इसिबाको अल्पमत सरकार महँगी तथा अमेरिकी ट्यारिफको प्रभाव न्यूनीकरण गर्न आगामी ग्रीष्मकालीन उच्च सदन निर्वाचनअघि एउटा आर्थिक सहयोग प्याकेज ल्याउने तयारीमा जुटिरहेको छ ।
उपभोक्ता खर्च स्थिर : समग्र अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी खपत (private consumption) भने लगातार चौथो त्रैमासमा पनि वृद्धिमा रह्यो- यद्यपि वृद्धि दर ०.०४ प्रतिशत मात्रै थियो । महँगीको दर तलब वृद्धिभन्दा बढी भएकाले वास्तविक खपत वृद्धि थालिन सकेको छैन ।
निर्यात घट्यो, आयात झनै बढ्यो : निर्यात पक्ष कमजोर देखिएको छ। जनवरी-मार्च त्रैमासमा निर्यात ०.६ प्रतिशतले घटेको छ, जुन चार त्रैमासपछि पहिलो गिरावट हो। बौद्धिक सम्पत्ति अधिकार तथा अनुसन्धान–विकास सेवाहरूको शुल्कमा आएको गिरावटले निर्यात घटाएको बताइएको छ ।
दोसोतर्फ, आयात २.९ प्रतिशतले वृद्धि भएको छ, जसले जीडीपीमा ऋणात्मक प्रभाव पारेको हो । मुख्यतया हवाइजहाज तथा अनलाइन विज्ञापनसम्बन्धी भुक्तानीमा वृद्धि आयात वृद्धिको कारण बनेका हुन् ।








