काठमाडौं – नेपाल वायुसेवा निगमको न्यरोबडी विमान भैरहवामा प्राविधिक समस्याका कारण ग्राउन्डेड भएपछि त्यसमा सवार १४९ यात्रु १६ घण्टापछि अर्को विमानमार्फत दुबई प्रस्थान गरेका छन् ।
बुधबार राति काठमाडौंबाट भैरहवा हुँदै दुबई जान उडेको विमानमा समस्या आएपछि यात्रुहरू भैरहवामा रोकिएका थिए । निगमको उपनिर्देशकका अनुसार, भैरहवामा अलपत्र परेका यात्रुहरूलाई निगमकै व्यवस्थापनमा स्थानीय पाँचवटा होटलमा राखिएको थियो । बिहीबार दिउँसो साढे ३ बजे काठमाडौंबाट आएको निगमकै अर्को न्यरोबडी (लुम्बिनी) विमानमार्फत ती यात्रुहरूलाई दुबई पठाइएको छ ।
बुधबार राति साढे १० बजे काठमाडौंबाट उडेको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी भैरहवामा अवतरण गरेलगत्तै इन्जिनमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो । निगमका अनुसार, यो जहाज ६ दिनअघि मात्र चीनमा ६ करोड ६८ लाख रुपैयाँ खर्चेर फाइभ-सी-चेक (मर्मत) गराएर नेपाल ल्याइएको थियो ।
प्राविधिक समस्या अन्तर्गत इन्जिनको ओभर स्पीड प्रोटेक्सन इन्डिकेसन देखिएपछि चालकदल र इन्जिनियरले सुरक्षा मापदण्डअनुसार जहाजलाई तत्काल मर्मत नगरी उडाउन उपयुक्त नदेखेको बताए । भैरहवामा निगमका सीमित कर्मचारी रहेका कारण राति अध्यागमन कार्यालय र विमानस्थलका कर्मचारीहरूलाई बोलाएर यात्रु व्यवस्थापन गरिएको थियो ।