समाचार सुन्नुहोस :
काठमाडौँ – दक्षिण भारतीय फिल्म अभिनेत्री रान्या रावलाई दुबईबाट फर्कने क्रममा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुनसहित पक्राउ गरिएको छ। बीबीसी हिन्दीका अनुसार बरामद गरिएको सुनको अनुमानित मूल्य लगभग १२ करोड रुपैयाँ रहेको छ।
राजस्व गुप्तचर विभाग (डीआरआई) का अनुसार रान्या रावले विशेष बेल्टको प्रयोग गरी सुनका बारहरू आफ्नो शरीरमा लुकाएकी थिइन्। थप अनुसन्धानका क्रममा उनको साथबाट ८०० ग्राम सुनका गहना पनि बरामद भएको छ।
पक्राउपछि अधिकारीहरूले रान्या रावको घरमा खानतलासी चलाएका थिए। सो क्रममा २.०६ करोड रुपैयाँ मूल्य बराबरका सुनका गहना र २.६७ करोड रुपैयाँ नगद जफत गरिएको डीआरआईले जनाएको छ। रोचकको कुरा के छ भने रान्या राव एक वरिष्ठ आईपीएस अधिकारीकी छोरी हुन्। जसले घटनालाई अझ चासोको विषय बनाएको छ।








