समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबाट अपमानित भएका युद्धग्रस्त मुलुक युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई बेलायतले न्यानो स्वागत गरेको छ । ह्वाइट हाउसबाट बाहिरिएलगत्तै बेलायत पुगेका जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सहानुभूति दर्शाउँदै न्यायो स्वागत गरेका हुन्। स्टार्मरले युक्रेनलाई पूर्ण समर्थन रहेको भन्दै जेलेन्स्कीलाई ढाडस दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले युनाइटेड किङडम युक्रेनसँग ऐक्यबद्ध रहेको बताए, जसको प्रत्युत्तरमा जेलेन्स्कीले बेलायतजस्ता असल मित्र पाउँदा युक्रेनलाई ठूलो हौसला मिलेको उल्लेख गरे। यस भेटवार्तामा दुई देशबीच सैन्य सहयोगसम्बन्धी सम्झौता पनि भएको छ। जसअनुसार बेलायतले युक्रेनलाई २.६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउनेछ। उक्त सहायता बेलायतले रुसी सम्पत्तिबाट रोक्का गरिएको रकम प्रयोग गरी प्रदान गर्ने बताइएको छ।
यसअघि, जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका गएका थिए।तर अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले उनीविरुद्ध अपमानजनक व्यवहार गरेपछि उनी त्यहाँबाट पूर्वनिर्धारित कार्यक्रमअनुसारको सम्झौता नै नगरी बेलायत पुगेका थिए। यस घटनाले ट्रम्प प्रशासनको कूटनीतिक शैलीप्रति अन्तर्राष्ट्रिय समुदायमा तीव्र आलोचना जन्माएको छ।