Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – जापानी अटोमोबाइल कम्पनी निसान र होन्डा मोटरबीच मर्जर हुने विषयले यतिबेला अटोक्षेत्र तातिएको छ । जापानको दोस्रो ठूलो अटोमोटिभ निर्माता होन्डा र तेस्रो नम्बरमा रहेको निसानले मर्जर सम्झौता सार्वजनिक गरेका हुन् ।

यी दुईबीच मर्जर हुने खबरले निसान मोटरको सेयर ऐतिहासिक उचाइमा पुगेको थियो । यी दुवै कम्पनी सन् २०२६ सम्म मर्ज हुने भएका छन् । मर्जरको अन्तिम सम्झौता सन् २०२५ को जुनसम्म भइसक्नेछ । होन्डा र निसान मर्ज भएसँगै टोयोटा र फक्सवागनपछि विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता कम्पनी बन्ने छ ।

जापानको अटो उद्योग दबाबमा परेपछि उनीहरूले मर्जर सम्झौता अघि सारेको स्वीकारेका छन् । कम्पनीले टेस्ला र बीवाईडीलगायत चिनियाँ विद्युतीय सवारी (ईभी) निर्मातासँगको प्रतिस्पर्धालाई बलियो बनाउन मर्जर सम्झौता गरेका हुन् । ‘चिनियाँ अटो निर्माता र नयाँ प्लेयरको उदयले कार उद्योग महत्त्वपूर्ण रूपमा फेरिएको छ,’ होन्डाका सीईओ तोशिहिरो मिबेले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘उनीहरूसँग जुध्न सन् २०३० सम्म क्षमता नबनाए हामी पछि पर्छौँ ।’

यो मर्जरमा सानो अटो निर्माता मित्सुबिशी मोटर्स पनि सहभागी हुने अपेक्षा गरिएको छ । मित्सुबिशीको सबैभन्दा बढी सेयर निसानसँगै छ । यी तीनवटै कम्पनीका प्रमुख कार्यकारीले सोमबार नै टोकियोमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । निसान मोटर कर्पोरेसनका सीईओ माकोटो उचिडा, होन्डाका निर्देशक तोशिहिरो मिबे र मित्सुबिशीका सीईओ ताकाओ काटो सम्मेलनमा उपस्थित थिए । होन्डा र निसानले संयुक्त रूपमा वार्षिक एक खर्ब ९१ अर्ब अमेरिकी डलरको बिक्री लक्ष्य राखेका छन् । यसबाट वार्षिक १९ अर्ब अमेरिकी डलरको नाफा लक्ष्य कम्पनीको छ ।

होन्डाको बजार पुँजीकरण ४० अर्ब अमेरिकी डलरभन्दा बढी छ भने निसानको करिब १० अर्ब अमेरिकी डलर छ । होल्डिङ कम्पनीको बोर्डको बुहमत होन्डाले नियुक्त गर्नेछ । मित्सुबिशी पनि जोडिएमा संयुक्त रूपमा यो ग्रुपले वार्षिक ८० लाखभन्दा बढी कार बिक्री गर्ने अपेक्षा गरिएको छ । हाल विश्वको तेस्रो ठूलो अटो निर्माताको स्थानमा दक्षिण कोरियाली हुन्डाई र किया छ ।

यसअघि गत मार्चमा यी दुवै कम्पनीले इलेक्ट्रिफिकेसन तथा सफ्टवेयर डेभलपमेन्टमा सहकार्य गर्नेबारे सोचिरहेको जनाएका थिए । अमेरिका र चीनमा बजार गुमाउँदै गएपछि गत महिना निसानले यसको कार्यबलको २० प्रतिशत अर्थात् करिब नौ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको थियो ।

अन्य विदेशी कम्पनीझैँ होन्डा र निसान पनि विश्वकै ठूलो बजार चीनमा बीवाईडी र अन्य स्थानीय ब्रान्डको छायामा परेका छन् । निसानका पूर्वअध्यक्ष कार्लोस गोसनले होन्डा–निसान गठबन्धन सफल हुनेमा आशंका व्यक्त गरेका छन् । उनी सन् २०१८ मा वित्तीय हिनामिनाको आरोपमा पक्राउ परेपछि निसान संकटमा धकेलिएको थियो । उनी बेलमा छुटेका बेला लेबनान भागेका थिए ।

निसानको सबैभन्दा बढी सेयरहोल्डर फ्रान्सेली अटोनिर्माता रेनोले यो मर्जरका सबै पक्षको हेरफेर गर्न तयार छ । ताइवानको फक्सकनले ईभी उत्पादनसम्बन्धी गरेको प्रस्ताव यसअघि निसानले अस्वीकार गरेको बताइएको छ । नयाँ ईभी निर्माताहरूले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अनेकौँ फिचरसहितका एवं स्वःचालित गाडीको विकास गरिरहेका छन् । यसले वैश्विकर अटो उद्योगमा अभूतपूर्व प्रतिस्पर्धा सिर्जना गरेको छ ।

जिवाश्म इन्धनमा आधारित सवारी निर्माता कम्पनीले नयाँ आएका ईभी उत्पादकलाई टक्कर दिन सकेका छैनन् । जिवाश्म इन्धनका आधारित कम्पनीले ईभीमा रूपान्तरण हुन नसके आफूहरू निकै पछि पर्ने चिन्ता गरिरहेका छन् । टोयोटा र हुन्डाईलगायत कम्पनीले हाइड्रोजन उर्जामा आधारित सवारी उत्पादन एवं विकासमा काम गरिरहेको भए पनि यसको बजार ईभीको तुलनामा निकै पछि छ ।

यस्तोमा अन्य कारणले समेत वित्तीय समस्याको सामना गरिरहेको निसानले होन्डासँग मर्ज हुँदा केही सुधारको अपेक्षा गर्नसक्छ । मित्सुबिशी पनि जोडिएमा मर्जरपछि बहुमत नियन्त्रण पाउने होन्डासहित यो ग्रुपले ईभी सवारी उत्पादनमा पनि राम्रो गति लिनसक्ने आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया