एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल व्यक्तिगत आचरणका कारण बेला बेलामा विवादमा परिरहन्छन् । पत्नीसँगको झगडा र सम्वन्ध विच्छेदले मात्रै होइन मादक पदार्थ सेवन गरेर देखाएको व्यवहारका कारण पनि प्रकाश आलोचनामा परे ।पछिल्लो समय एकीकृत नेकपा माओवादीकै विद्यार्थी संगठनमा काम गर्ने विना मगरसँगको विवाहपछि पार्टी कारबाहीमा परेर भारतको राजधानी नयाँ दिल्लीमा रहेका प्रकाश दाहालसँग उज्यालो अनलाईनका लागि रविराज बरालले गरेको कुराकानी :
हिजोआज के गर्दै हुनुहुन्छ ?
एउटा परिस्थिति र बाध्यताले मान्छे एउटा निर्णयमा पुग्छ । कहिले त्यो गलत हुन पुग्छ, कहिले सही । मेरो लागि पनि यो संक्रमणकालिन अवस्था हो । समयको सदुपयोग कसरी गर्ने र फेरि राजनितिक क्रियाकलापमा कसरी फर्किने भन्नेमा छु । धेरै समय अध्ययनमा बित्छ । ईन्टरनेट मार्फत नेपालमा भएका घटनाहरु पनि बुझिरहन्छु ।
हिजोआजको बसाई कहाँ, कसरी चल्दैछ ?
अहिले म भारतको दिल्लीमा एउटा सामान्य घरमा कोठा लिएर बसिरहेको छु । मेरो जीवनमा भोगेको हरेक अनुभव भन्दा अहिलेको अवस्था धेरै फरक छ ।
गुजारा कसरी चल्दैछ ?
अपर्झट आउँदा सुरुमा केही समस्या पनि भयो । यहाँको रोहिणीस्थित एक सपिङ मलमा काम गरेँ । डेढ महिनाजति काम गरेपछि बिरामी भएँ । यहाँ रहेका नेपालीले सहयोग गर्नुभयो । मैले पार्टीसँग गुहार मागेको छैन ।
नेपाल कहिले फर्किने त ?
चाँडै नै म नेपाल आउनेछु र देश, पार्टी र अध्यक्ष कमरेडलाई सक्दो सहयोग गर्नेछु । बीनाजी (अहिले दिल्लीमा सँगै रहेकी) सँग पनि यही विषयमा सल्लाह भैरहन्छ । देश फर्कनबाट मलाई कसैले रोक्न सक्दैन ।
परिवारमा सम्पर्क भैरहन्छ ?
ममी र दिदीहरुसँग मेरो नियमित जसो नै सम्पर्क हुन्छ । परिवारमा मेरा बारेमा साह्रै नकारात्मक सोचाई छैन । उहाँहरुलाई थाहा छ, सिर्जना (पत्नी) र मबीच सुरुदेखि नै सम्बन्ध राम्रो थिएन । जव मैले प्रक्रियामा त्रुटी गरेँ, ‘रुपान्तरण भएर पार्टीमा फर्के, गल्ती सबैबाट हुन्छ’ भन्नुभएको छ ।
अनि प्रचण्डसँग चाहीँ ?
अध्यक्षसँग मैले कुरा गरेको छैन । उहाँलाई थप टेन्सन होस् भन्ने म चाहन्न । उहाँसँग यता आएपछि एकपटक पनि कुराकानी भएको छैन । म पार्टीका अन्य कमरेडसँग भने निरन्तर सम्पर्कमा छु ।
गल्ती गरेँ भन्ने लाग्दैन ?
यस्तो घटना मेरो जीवनमा मात्र भएको होइन, फरक यत्ति हो कि म अध्यक्षको परिवारको सदस्य हुँ । त्यसैले घटनालाई अतिरञ्जित गरियो । मान्छेले रहरले गल्ती गर्दैन । त्यसको पछाडि कुनै न कुनै कुण्ठा हुन्छ, दबाब हुन्छ । मैले भनिसकेँ, सिर्जना र मेरो सम्बन्ध सुमधुर थिएन । त्यसरी बस्नुपर्दा एक प्रकारको तनाव हुँदोरहेछ । सगरमाथा जाँदा आफ्नै साथीहरुले मेरा बिरुद्ध गलत समाचार दिए । त्यस घटनापछि सिर्जनाले सम्बन्धको अन्त्य गर्छु भनेपछि झन् तनावबाट गुज्रेँ । उनको माग बमोजिम प्रक्रिया मिलाउन छोडेर मैले गलत बाटो अपनाएँ । सिर्जनाको चाहनाअनुसार निर्णय गरेको भए म यो अवस्थामा हुने थिइन ।
तपाईँका यस्ता गतिविधिले प्रचण्डको राजनीतिक छविमा प्रभाव पारेको छैन ?
लाग्दैन । उहाँको छवि आफ्नै ठाउँमा छ, मेरो गल्ती आफनै ठाउँमा । पार्टीको विधान विपरित काम गरेकोले अध्यक्षले नै मलाई कारबाही गर्नुभयो । जीवन बांगोटिंगो गोरेटो जस्तो रहेछ । उतारचढाव आउने रहेछन् । म त्यस्तै आरोह अवरोहबाट गुज्रिरहेको छु । आत्तिएर हतोत्साही हुने भन्दापनि रुपान्तरण भएर पार्टी र क्रान्तिमा होमिनु मुख्य कुरा हो जस्तो लाग्छ ।
तपाईँको आनीबानीबारे खुब हल्ला चल्छ, तपाईँ सुध्रिन नसकेकै हो ?
हाम्रो पार्टी र मुख्यतः हाम्रो परिवार चौतर्फी घेराबन्दीमा छ । अध्यक्षलाई कहाँबाट हान्न सकिन्छ, डगमगाउन सकिन्छ भनेर कुरिरहेका हुन्छन् । उनीहरुले अध्यक्षलाई प्रहार गर्न मलाई त्यही ढंगले प्रचार गर्न थाले । हाम्रो पार्टीकै कतिपय ठूला नेता नै छोराछोरी पढाउन लागेका छन् । तर अध्यक्षले कहिल्यै हाम्रो बारेमा सोच्नुभएन । त्यही अनुसार युद्धमा होमियौं । अहिले अध्यक्षलाई प्रहार गर्न मेरोबारे अनर्गल प्रचार मात्र गरिएको हो ।
प्रचण्डमाथि थप्पड प्रहार भयो, के आयो दिमागमा ?
युद्धकालमा म दुश्मनको गोलाबारुदको बीचमा अध्यक्षको सुरक्षामा खटिएको थिएँ । तर त्यो घटनामा उपस्थित हुन सकिन । न मैले बोल्न पाएँ, न समवेदना प्रकट गर्न नै । अध्यक्षको स्वभावमा पनि कमजोरी रह्यो । अंगालो मारिहाल्न पर्ने, निकटता कायम गरी हाल्नुपर्ने प्रवृत्तिले पनि त्यो घटना भएको मैले ठानेको छु ।
नेपाल फर्किनुभयो भने के छन् योजना ?
तत्कालका लगि पार्टी विधान विपरित कदम चालेको हुँदा कारवाही भोग्नुको विकल्प मसँग छैन । कारबाही स्वीकारेको छु । मैले गल्ती गरेकै हो । छिट्टै रुपान्तिरित भई अझ सशक्तरुपमा पार्टी र अध्यक्षको सहयोगमा खटिने छु । ***








