नयाँदिल्ली – प्रमुख विपक्षी दल कांग्रेस र एमालेका झन्डै आधा दर्जन नेता छिमेकी भारत आइपुगेका छन् । उनीहरूमध्ये अधिकांशले नियमित स्वास्थ्योपचार वा आफ्नो व्यक्तिगत कामका क्रममा भारतीय राजधानी नयाँ दिल्ली आएको दाबी गरेका छन् । केहीले भने भारतीय अनुसन्धान संस्थाहरूले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा भाग लिन नयाँ दिल्ली आएको उल्लेख गरे । यस्ता कारण बताए पनि उनीहरूले भारतीय राजनीतिक वृत्तमा आफूले चिनेका प्रभावशाली व्यक्तिहरूलाई भेटेर राजनीतिक अवस्थाबारे कुराकानी गर्न समेत भ्याएका छन् ।एमालेका वरिष्ठ नेता केपी ओली एक महिना नकट्दै दोस्रो पटक नयाँ दिल्ली आएका हुन् । गत आइतबार यहाँ आएका ओलीले स्वास्थ्य समस्याका कारण दिल्ली र्फकनुपरेको कान्तिपुरलाई बताएका थिए । यसअघि उनी साउनको दोस्रो साता १० दिनभन्दा बढी भारतमा बसेर स्वदेश फर्किएका थिए ।
बिहीबार फर्किन लागेका ओलीले भारतीय नेताहरूसँग भेटे । सत्तारूढ कंग्रेस आईका महामन्त्रीहरू दिग्विजय सिंह र जनार्दन द्विवेदी तथा विदेश विभाग प्रमुख करण सिंहसँग उनले भेटवार्ता गरे । उनले ती भेटमा ‘नेपालको पछिल्लो अवस्थाबारे राम्रो छलफल भएको’ प्रतिक्रियाबाहेक अरू भन्न चाहेनन् । बुधबारै उनले भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पोलिटब्युरो सदस्य सीताराम येचुरीसँग पनि भेटे ।
कंग्रेसका नेता प्रदीप गिरी पनि सातायता भारतमै छन् । प्रायः धेरै आउजाउ गर्ने गिरीका यहाँ धेरै भारतीय साथी छन् । कंग्रेसका अर्का नेता विमलेन्द्र निधि पनि सातादेखि यतै छन् । कंग्रेसनिकट प्रवासी संगठनको कार्यक्रममा मुम्बई र पुणेमा भाग लिई उनी दिल्ली आएका हुन् । दिल्लीमा पढिरहेको छोरा भेट्न निधि दिल्ली छिरेका हुन् । यो अवसरलाई उनले भारतीय नेताहरूसँग भलाकुसारी गर्ने मौकाका रूपमा पनि उपयोग गरे ।
कंग्रेस नेता रामशरण महत पनि मंगलबार नयाँ दिल्ली आएका छन् । उनले भारतीय थिंक ट्यांकहरूले गर्ने कार्यक्रममा सहभागी हुन यहाँ आएको बताए । विवेकानन्द फाउन्डेसनले बुधबार गरेको नेपालसम्बन्धी ‘क्लोज्ड डोर’ छलफलमा उनी वक्ता थिए । नेपालसम्बन्धमा केही दिनयता उसले चलाएका शृंखलाबद्ध छलफलमा आन्तरिक भएको भन्दै सञ्चार माध्यमलाई रोक लगाइएको छ । मंगलवार संविधानविद् भीमार्जुन आचार्यलाई बोलाएको थियो । एमाले नेता प्रदीप ज्ञवाली पनि फाउन्डेसनको कार्यक्रममा सहभागी हुन बिहीबार दिल्ली आउँदै छन् । अलग-अलग डाकिएका यी नेपाली विज्ञ तथा नेताहरूलाई काठमाडौंबाट को-को दिल्ली आउँदै छन् भन्ने जानकारी समेत दिइएको थिएन । कंग्रेस नेतृ सुजाता कोइराला पनि मंगलबारै यहाँ आएकी छन् । कान्तिपुरसँग टेलिफोनमा उनले व्यक्तिगत कामका लागि आएको बताइन् । ‘धेरै समय भएको थियो यता नआएको, त्यसैले आएकी हुँ । यो मौकामा आफ्नो स्वास्थ्यजाँच पनि गराइहाल्छु,’ उनले भनिन् ।







