काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरी विभेद गरेको टिप्पणी गरेका हुन् ।
नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पुर्वाधारका कार्यक्रममा पनि उचित ध्यान पुर्याउन नसकेको भन्दै आक्रोश पोखे । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालले ठूला ठूला सपना देखाउने सरकारले आफ्नो क्षेत्रमा पैदलमार्गका लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ती जनाउनुभयो । बाग्लुङकी सांसद छन्त्यालले जिल्लाका विभिन्न सडक निर्माणका लागि बजेट विनियोजन नभएकोमा आक्रोश पोख्दै सरकारले सांसदहरुको हात खुट्टा बाँधेर राख्ने काम गरेको आरोप लगाउनुभयो ।
‘ठूला ठूला योजना गर्छु भन्ने, रेल मार्ग पानी जहाजको सपना देखाउने, आज खुनखानीबाट गुर्जा जस्तो सडकमा एउटा पैदल मार्ग छैन । दिनरात बास बसेर त्यो गुर्जाका जनता त्यो ठाउँमा पुग्छन् । बास बस्दै गर्दा कसैलाई भालुले खाएको छ, बाघले खाएको छ,’ उहाँले भन्नुभयो । त्यसैगरी सांसद संजयकुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्तापक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनुभयो । आफ्नो जिल्ला बर्दियामा कुनै पनि योजना नपरेको भन्दै उहाँले प्रतिपक्षी दल निर्वाचित भए पनि त्यहाँका जनता पनि नेपाली नै भएकाले विभेद नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।








