काठमाडौं – निर्धन संस्थाले भूकम्प प्रभावितहरुलाई साबुन बनाउने तालिम दिएको छ । विपन्न क्षेत्रका स्थानीयलाई उद्यमी बनाउने प्रयासस्वरुप उक्त तालिम दिइएको हो ।
काठमाडौंको नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुलाई दुईदिने तालिम दिएको जनाएको छ । असार ७ र ८ गते ललितपुरको टिकाथलीमा ‘साबुन बनाउने तालिम’ दिइएको थियो । निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले तालिम दिनुको उद्देश्यमाथि प्रकाश पार्दै विपन्न क्षेत्रमा रहेका महिलाहरुलाई उद्यमी बनाउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।
लक्ष्मी राई, सपना भुलुन लगायतले तालिममा सहभागी महिलाहरुलाई साबुन बनाउने तरिका सिकाउनु भएको थियो । तालिमको समापन शत्रमा सहभागीहरुको तर्फबाट बोल्दै विष्णुमाया भण्डारी, कल्पना तामाङ्ग, अप्सरा थापा, शान्ति महतले तालिम फाइदाजनक रहेको बताएका थिए । उनीहरुले आफूहरुजस्ता महिला उद्यमी बन्नका लागि यस्तै तालिम आगामी दिनमा पनि आवश्यक रहेको बताए ।
समापन शत्रमा प्रशिक्षिका लक्ष्मी राई, ग्लोबल पिस फाउण्डेसनका कार्यक्रम अधिकृत सुस्मित सुनुवार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख बन्दना ज्ञवाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ठेचो शाखाका प्रमुख हिरा लाल विकले मन्तब्य राखेका थिए ।
वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलाई निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ ।








