चितवन– चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३, चुम्लिङटारमा माइक्रो बस र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठोरले जानकारी दिनुभयो ।
आज बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ७२९२ नम्बरको माइक्रो बस र काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ४०६४ नम्बरको मालबाहक ट्रक एक–आपसमा ठक्कर खाएका हुन्।
दुर्घटनामा माइक्रो बसका चालकसहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको एसपी राठोरले बताए। चालक कास्की रुपाकोट–८ बस्ने चन्द्र बहादुर केसीबाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन। एसपी राठोरका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र १ महिला रहेका छन्।
घाइते हुनेहरुमा तनहुँका सुशिल कार्की, चितवन भरतपुर–२९ का आश आलेमगर, तनहुँ देवघाटका सन्तोष प्याकुरेल, गोरखा पालुङटारका ईश्वर बोगटी, तनहुँ दुलेगौंडाका बुद्धबहादुर नेपाली र मकवानपुर हेटौँडाका रञ्जित राई रहेको प्रहरी प्रमुख राठोरले जनकारी दिनुभयो।
प्याकुरेल, बोगटी, राई तथा अन्दाजी ३० वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
ट्रकका चालक तथा दुवै सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।








