काठमाडौं – सुन तस्करीको पैसा लगानी गरेको भन्दै छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा शाखामा शिलबन्दी गरेको छ । अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताउनुभयो ।
उपत्यकामा बाजेको सेकुवाका १० वटा शाखा भेटिएको भन्दै सहसचिव पौडेलले त्यसमध्ये ६ वटामा शिलबन्दी गरेको बताउनुभयो । उहाँको अनुसार अन्य शाखाको हकमा थप छानबिन भइरहेको छ । रेस्टुरेन्टका सञ्चालक भण्डारीले सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर तस्करीमा लगानी गरेको खुलेको थियो । उहाँको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ । भण्डारी भने फरार छन् ।
उनीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दामा पनि अनुसन्धान हुने समितिले जनाएको छ । सोमबार मात्र समितिले तस्करी प्रकरणमा पक्राउ परेका राजेन्द्र शाक्यको तीनै वटा सुन पसलमा छापा हानी सबै सुन तथा गहना बरामद गरेको थियो। त्यस्तै आइतबार मोहन अग्रवालको घरमा छापा हानिएको थियो।








