काठमाडौं – काठमाडौंको जडिबुटीमा भएको दुर्घटनामा परेकी काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको छ । आज बिहान भण्डारीले चलाएको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई बा ४ ख ३५५८ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार दुर्घटनामा परेकी भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । टिप्परका चालक पृथ्वीनारायण नापितलाई पक्राउ गरिएको एसपी जोशीले बताउनुभयो । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको टिप्परले सोही दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि टिप्परमा आगो लगाई स्थानीयले चक्काजाम गरेका थिए ।
जसका कारण कोटेश्वर, जडिबुटी, पेप्सीकोला तथा गठ्ठाघरमा जाम भएको थियो ।आगलागी गरिएको ट्रकलाई सडकबाट हटाइएको र सडकको अवस्था हाल सामान्य भएको एसपी जोशीले जानकारी दिनुभयो ।








