Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको छानविन सुरू गरेको छ । विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरू गोरे, भुजुङ गुरुङ र छिरिङ वाङ्देललाई विभागमा झिकाएर सम्पत्ति छानविन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयाे ।

उहाँले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने पनि बताउनुभयाे ।  विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानविनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरूलाई आवश्यकता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने पनि प्रवक्ता लामिछानेले जानकारी दिनुभयाे । विभागले सम्पत्ति छानविन अनुसन्धानका क्रममा अभियुक्तहरू गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ ।

गैरकानूनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानविनका लागि विभागले सम्वद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताउनुभयाे । उहाँले अनुसन्धानका क्रममा सो कार्यमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने पनि स्पष्ट पार्नुभयो । विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरू पक्राउ परेका हुन् ।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरूविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानविन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरू हाल केन्द्रीय कारगारमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया