काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रदेश नम्बर १ को.प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिहान ११ बजेपछि सम्बोधन गर्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयन, सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता लगायतबारे जानकारी गराउँदै राष्ट्रिय मुद्दामा प्रदेश सरकारको सहयोग र सहकार्यबारे आग्रह गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली अहिले केहीबेरमा बिराटनगर बिमानस्थल ओर्लनु हुनेछ ।
बिरानगर बसाईका क्रममा प्रधानमन्त्री ओलीले स्थानीय उद्योगी व्यापारीसँग छलफल गर्नुहुने संयोजक अधिकारीले बताउनुभयो । यसैबीच, प्रदेश एक सरकारले भोली आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
मुख्यमन्त्री शेरधन राईले हिजो प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङलाई भेटेर नीति तथा कार्यक्रम प्रस्तुतिका लागि औपचारिक पत्र बुझाउनुभएको थियो ।








