बुटवल – कृषिमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको सिन्डिकेट हटाउने बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि क्षेत्रमा व्यापक सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाएरै छाड्ने बताउनु भएको हो ।
कृषिको लागि आवश्यक मल, कीटनासक विषादी लगायतका कुरा सिन्डिकेटकै सञ्जालभित्र रहेको उहाँले बताउनुभयो । ‘मालपोत, नापी, वकिलदेखि अदालतसम्म जोडिएको दलालको सञ्जाल छ’, उहाँले भन्नुभयो ।
जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यही दरमा जग्गाको कारोबार भइरहेमा अबको १० वर्षभित्र सबै वस्तु किनेर खानुपर्ने अवस्था आउनेतर्फ कृषिमन्त्रीले सजग गराउनुभयो । उहाँले यस्तो समस्याले रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा ठूलो रुप लिएको बताउनुभयो ।
कृषिमन्त्री खनालले देशको अधिकांश जग्गा दलालको हातमा रहेको भन्दै दलालको मनपरीले जमिन ध्वस्त भएको दाबी समेत गर्नुभयो । उहाँले सरकारले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको पनि उल्लेख गर्नुभयो ।








