काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले राजनीति र अपराधमा मुछिएका माछाहरु मार्ने काम जारी रहेको बताउनु भएको छ । उहाँले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको बताउनु भएको हो ।
आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘माछा मार्ने काम जारी छ । अहिले साना माछा मात्रै परेको छ । आशा गरौँ, ठूलो माछा पनि एक दिन पर्छ । अनुसन्धान जारी छ ।’ यस्तै प्रहरी प्रशासनमा सरुवा बढुवामा मनोमानी भइरहेको भन्ने प्रश्नमा गृहमन्त्री थापाले अब यस प्रकारको गल्तीलाई ठोस रुपमा मन्त्रालयले लिइसकेकाले तलको माथि र माथिको तल संयन्त्र पार्ने काम कदापि नहुने जिकिर गर्नुभयो ।
उहाँले समयमा काम नगर्ने, जिम्मेवारी बहन नगर्ने र राज्यको ढुकुटीको दुरुपयोग गर्ने ठेकेदार वा सभासद् जो कोही पनि कानुनको उल्लंघन गरेमा स्वतः राज्यको नजरमा गैरकानुनी, अपराधी र भ्रष्टाचारी ठहर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयमा काम नगर्ने, जिम्मेवारी बहन नगर्ने र राज्यको ढुकुटीको दुरुपयोग गर्ने ठेकेदार वा सभासद जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ । त्यो व्यक्ति वा संस्था राज्यको अपराधी र भ्रष्टाचारी हो ।’








