काठमाडौं – वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्यूरो अस्पताल अगाडि पुगेर समापन गरियो ।
‘वि लभ यु फाउण्डेशन’ संस्थाको आयोजना गरिएको सरसफाइ कार्यक्रमको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेतृत्व गर्नुभएको थियो । उहाँ मुखमा माक्स र हातमा कुचो लिएर सरसफाइमा सहभागी हुनुभएको थियो । सरसफाइका क्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहर हटाउन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुले आफ्नो कार्यालय अगाडि थुपार्नुभएको फोहर तत्काल हटाउनुस्, आगामी दिनमा पुनः यस्तो फेला पारियो भने कारबाही गर्छु । उहाँले कार्यालय अगाडि फोहर जम्मा पार्ने सरकारी कार्यालयलाई पहिलो चरणमा उक्त फोहर हटाएर आउँदा दिनमा त्यसो नगर्न निर्देशन दिने र निर्देशन पालना नभएमा जरिवाना लगाउने स्पष्ट गर्नुभयो ।
सिंदरबारभित्र र बाहिरका चमेना गृहले फोहर व्यवस्थापन गर्ने नगरेको पाइएपछि मन्त्री बस्नेतले तत्काल उक्त कार्य रोक्न निर्देशन दिनुभयो । मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा मंगलबारदेखि नेपाल स्वच्छ वातावरण महाभियानको थालनी गरेको छ ।








