काठमाडौं – गाजामा शनिबार एक नर्सलाई हज्जारौं प्यालेस्टिनीले प्यालेस्टाइनको झण्डा ओढाएर अन्तिम बिदाई गरे । ती नर्सको शुक्रबार भएको विरोध प्रदर्शनमा इजराइलको तर्फबाट गरिएको गोलीबारीमा मृत्यु भएको थियो ।

रजान अल–नजर नाम गरेकी ती नर्स २१ वर्षकी थिइन् । रजानको मृत्युपछि प्यालेस्टाइनले बदलाको माग गरिरहेका थिए । अन्त्येष्टिमा समावेश रजानका पिता हातमा छोरीको मेडिकल ज्याकेट लिइरहेका थिए जुन रगतले लत्पत्तिएको थियो ।
प्यालेस्टाइनको स्वास्थ्य अधिकारीका अनुसार रजान गाजाको दक्षिण इलाकामा भइरहेको विरोध प्रदर्शनमा उपस्थित थिइन् । प्रदर्शनका क्रममा उनी घाइतेको मद्दतका लागि गाजा–इजराइल सीमामा राखिएको घेरातर्फ दौडदाँ उनलाई गोली हानिएको थियो ।

रजानको मृत्युको शोकः
प्यालेस्टानको मेडिकल रिलिफ सोसाइटिले आफ्नो एक बयानमा जेनेभा कन्भेन्सनका अनुसार घाइतेको मद्दत गर्ने मेडिकल स्टाफको हत्या गर्नु युद्ध अपराध भएको र रजानलाई मारेर इजराइलले युद्ध अपराध गरेको बताएको छ ।
मध्यपूर्वमा संयुक्त राष्ट्रका दूत निकोलाई म्लादेनोवले पनि रजानको मृत्युको शोक जताएका छन् । उनले ट्वीट गरेर भने, ‘स्वास्थ्यकर्मीलाई निशाना बनाउनु हुँदैन । मेरो समवेदन रजानको परिवार र प्यालेस्टिनीहरुसँग छ । उनीहरुले अत्यधिक समस्या झेलिसकेका छन् । इजराइलले सैन्य कारवाहीको अनुसन्धान गर्नुपर्छ र हमासको सीमा नजिकै हुने यस्ता घटना रोक्नुपर्छ । ’
इजराइल सेनाले एक लिखित बयानमार्फत उनको मृत्युको अनुसन्धान गर्ने बताएको छ ।
प्यालेस्टाइनको आरोपको जवाफमा इजराइलले आफूले विरोध प्रदर्शनको नाममा सीमा पार गर्ने कोसिस गरिरहेका मानिसहरुलाई गोली हानेको बताएको छ । साथै इजराइलले प्यालेस्टाइनको इस्लामिक चरमपन्थी संगठन हमासले हिंसा भड्काएको आरोप लगाएका छन् ।
इजराइल डिफेनस फोर्सेज (आईडीएफ) का अनुसार प्यालेस्टाइनका चरमपन्थीले शुक्रबार सीमामा तैनाथ आफ्ना सेनामाथि गोली र ग्रेनेडले हमला गरेका थिए ।
उनका अनुसार रजानको अन्त्येष्टिको केही घण्टापछि गाजाको तर्फबाट इजराइल सीमातर्फ दुई रकेटले हमला गरिएको जसका कारण उनीहरुले सीमावर्ती गाउँमा रातो साइरन बजाउनु परेको थियो ।
यता संयुक्त राष्ट्र र मानवाधिकार कार्यकर्ताले इजराइलमाथि असंगत रुपले सैन्य कारवाहीको आरोप लगाएका छन् ।








