काठमाडौं – गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले सरकारको शासकीय प्रवृतिका कारण आफू जेल जानु परेको बताउनु भएको छ । मुलुकमा गणतन्त्रको माग गर्दै आन्दोलन चलिरहेका बेला संकटकाल लगाउन, टाउकाको मूल्य तोक्ने र योद्धाहरूलाई बेपत्ता बनाउने काममा संलग्नहरू नै गणतन्त्र प्राप्तिपछि नेतृत्वमा पुगेकाले आफूमाथि अन्याय भएको उहाँको भनाइ थियो ।
आज बिहान डिल्लीबजार काराबारबाट सिधैँ पेरिसडाँडास्थित तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पुगेका ढुंगेलले सोही स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्र विरोधी नै गणतन्त्रको मालिक बनेपछि आफू कारागार जानुपरेको बताउनुभयो । उहाँले गणतन्त्र अपहरणमा र न्यायालयलाई बलात्कृत गरेर आफूलाई अपराधिकरण गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘म बालकृष्ण ढुंगेल न्यायालयको बेच्नबाट बलात्कृत भएको पात्र हुँ ।’
आफ्ना कुरा कसैले नसुनेको भन्दै ढुंगेलले संचारजगत, न्यायालय र वकिलहरूलाई ब्राण्डेड रक्सी र एक थाल भातका भतुवाको संज्ञा दिनुभयो । राष्ट्रपतिबाट कैद माफी पाएको बिर्सेर ढुंगेलले आफू निरअपराधी भएको र ढिलै भए पनि सत्यको विजय भएको भन्न समेत विर्सिनु भएन । ढुंगेललाई कैद सजाय मिनाहा नगर्न दाबी गर्दै दायर गरिएका रिटमाथि अहिले पनि सर्वोच्च अदालतमा बहस जारी छ ।








